काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताएका छन् । सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताउँदै यस्तो प्रवृत्तिमा ‘करेक्सन’ नभए ‘नकारात्मक पात्रहरुको भूमिका फेरेर’ भए पनि अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पार्टीको स्थायी कमिटी सदस्यसमेत हुन् । रिमालले शुक्रबार सामाजिक सञ्जालबाटै सचिवालय सदस्य श्रेष्ठलाई ‘इनफ इज इनफ’ भन्दै यसरी गाली गरे, ‘कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’
बुधबार नयाँबानेश्वरस्थित एक कलेजमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले करिब ४० जना पत्रकारहरुसँग भेटघाट गरेका थिए । सो कार्यक्रममा प्रवक्ता श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार नचलेको बताएका थिए ।
हुनत बुधबारको कार्यक्रममा बोल्ने नारायणकाजी श्रेष्ठ एक्ला थिएनन्, त्यहाँ प्रचण्ड, माधव र झलनाथले पनि बोलेका थिए ।