अत्तरीया :- गाईगोरुको घाटीमा रातिमा चम्कीने फित्ता बाध्न सुरु गरिएको छ । बाणिज्य संघ संगको सहकार्यमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाडा गाईगोरुको घाटीमा रिफ्लेक्टर स्टिकर बाध्न सुरु गरेको हो ।



उक्त कार्यक्रममा सहभागि प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रमुख बामदेव गौतमले राजमार्ग क्षेत्रमा छोडिएका छाडा गाईगोरुका कारण बढी दुर्घटना हुने हुँदा रिफ्लेक्टर स्टिकर रातिको समयमा लाईट पर्दा चम्किने भएकाले सवारी चालकले सडकमा छाडा गाईगोरु देख्न सहज हुने र त्यसको न्युनिकरणमा सहयोग पुगोस भनेर यो कार्य सुरु गरिएको बताए ।
छाडा गाईगोरुको कारण बढी दुर्घटना हुँदै आएका छन जसले गर्दा धेरै गाईगोरुको ज्यान गएको छ, भने सवारी दुर्घटना भएर मानिस पनि घाईते हुने, मृत्यु हुने भएकाले रातीको समयमा सडकमा छोडिएका गाइगोरु देख्न रिफ्लेक्टर स्टिकरले सजिलो हुनेछ । रिफ्लेक्टर स्टिकर बाधेपछि दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने छ। उनले करिब ५ सय रिफ्लेक्टर स्टिकर बाध्न लक्ष्य रहेको र आज बुधबार अत्तरिया बसपार्कमा रहेका करिब २ दर्जन छाडा गाइगोरुको घाटीमा रिफ्लेक्टर स्टिकर बाधिएको बताए ।
छाडा गाईगोरुको व्यवस्थापना स्थानिय तहको कुनै चासो नहुँदा समस्या झन विकराल बन्दै गएको र ‘गोदावरी नगरपालिका संग छाडा गाईगोरुको उचित व्यवस्थापन गर्न पटक पटक आग्रह गर्दा पनि तर सुनुवाई भएको छैन । त्यसैले छाडा गाईगारुका कारण दुर्घटना न्यूनिकरण होस भनेर अत्तरिया उद्योग बाणिज्य संघले ट्राफिक प्रहरी संग सहकार्य गरेको संघ अध्यक्ष अशोक राज देवकोटाले बताए ।’
अत्तरिया बजार क्षेत्र पूर्वपश्चिम राजमार्गमा छाडा गाईगोरुका कारण सवारी दुर्घटना बढेका छन । जसले गर्दा सवारी चालकलाई असहज हुने गरेको छ। छाडा गाईगोरु दुर्घटनामा परेर मर्ने संख्या पनि बढ्दै गएको देखिन्छ ।
प्रदेश ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७७/०७८ मा मात्रै सवारी दुर्घटनामा १७ पशु चौपाया मरेका छन ।

























