काठमाण्डु – डा. गोविन्द केसीले भदौ ३ गतेबाट अनसन बस्ने घोषणा गरेका छन् । शुक्रबार डा. केसीले बीपी प्रतिष्ठानमा अरबौं भ्रष्टाचारका लागि दोषी पदाधिकारीहरुमाथि कारबाही र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै अनसन बस्ने घोषणा गरेका हुन् ।



‘स्वार्थको द्वन्द्व हुने गरी नियुक्त गरिएका स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् । अब उपरान्त व्यापारी, व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस ख्वाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआउने सुनिश्चित गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी प्रष्ट कानुनी व्यवस्था गरियोस् । अवैध रुपमा बढी शुल्क लिएको पुष्टि भइसकेका मेडिकल माफियाहरुलाई चुनावको टिकट पाउन र समानुपातिक सांसद हुनबाट वञ्चित गरियोस्,’ उनले भनेका छन् ।
डा. केसीले यसअघिका सरकारले आफूहरसँग गरेका सम्झौता कार्यान्वयन गरेको भन्दै अहिले पनि राज्यको नीति निर्माण तहमा माफियाहरुको स्वार्थका लागि काम गर्ने र सार्वजनिक संस्थाहरुलाई धराशायी बनाउने व्यक्तिहरु हावी भएको आरोप लगाएका छन् । उनले कोरोनाबाट धेरै नेपालीहरुले आवश्यक स्वास्थ्य सेवा नपाएर अनाहकमा ज्यान गुमाउनु पर्यो भने धेरैले उपचारका लागि घरखेत बेच्नुपरेको बताएका छन् ।


















