सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नै जारी गरेपछि सत्ता हस्तान्तरण सजिलो बनेको छ । अदालतले संधिवानको धारा ७६ को ५ अनुसार देउवा नै एक्ला उम्मेदवार भएको र बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ । सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको भन्दै ओलीले राजिनामा दिन लागेका हुन् ।




























