२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

खानेपानी विवाद प्रकरण : बालकको हत्यामा संलग्न १० जना पुर्पक्षका लागि थुनामा

राम धामी /डडेल्धुरा– डडेल्धुराको आलिताल गाउँपालिका–६ मा खानेपानी योजनाका विषयमा भएको विवादका कारण झडप हुँदा आठ वर्षीय बालकको मृत्यु भएको मुद्दामा जिल्ला अदालतले १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधबार बेलुकी अबेरसम्म चलेको थुनछेक बहसपछि जिल्ला अदालत डडेल्धुराका न्यायाधीस हरिप्रसाद शर्मा उपाध्यायको इजलासले १३ जनामध्ये तीन नाबालिगलाई चाहेका बेला पेश गर्न सकिने गरि अभिभावकको जिम्मा लगाउने र बाँकी १० जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पुर्पक्षका लागि थुनामा जानेहरुमा ५५ वर्षीय निरु भन्ने निरबहादुर ओली, ३३ वर्षीय हरिकृष्ण भाट, ४८ वर्षीय पम्फा ओली, २९ वर्षीय अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीय रिमा ओली, ३१ वर्षीय पवित्रा ओली, ३० वर्षीय टीकाराम ओलीसहित १० जना रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । उनले तीन नाबालिग रहेकाले उनीहरुलाई चाहेका बेला पेश गर्न सकिनेगरि अभिभावकको जिम्मा लगाइएको बताए ।

आलिताल गाँउपालिका– ६ मा रहेका दुई गाँउबिच लामो समयको खानेपानी विवाद रहेको थियो । विवादले उग्र रुप लिएपछि भएको झपडका क्रममा गत असार २६ गते भौना गाँउका आठ बर्षीय बालक हिमांसु महरा गम्भीर घाइते भएका थिए । आक्रोशित स्थानीयको भीडले ढुंगाले हानेर अनुहारमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा गत असार २७ गते बिहान धनगढी अस्पतालमा मृत्यु भएको थियो ।

यस्तो थियो विवाद
आलिताल गाउँपालिका–६ मा भौना गाउँ र मेलखाली गाउँबीच वर्षौंदेखि खानेपानीको विवाद रहेको छ । भौना गाउँवासीले २०४१ सालदेखि प्रयोग गरेको खानेपानी मेलखालीवासीले आफ्नो गाउँमा लग्न खोजेपछि विवाद उत्कर्षमा पुगेको हो ।
१४ घरधुरी रहेको मेलखाली गाउँवासीले षड्यन्त्रपूर्वक खानेपानी आफ्नो गाउँ लैजान लागेको थाहा पाएपछि भौना गाँउका बासिन्दाहरुले त्यसको विरोध गरेका थिए । वडाबाट बजेट हालेर निर्माण हुन लागेको खानेपानी आयोजनाको उपभोक्ता समितिमा भौना गाउँवासी हरिकृष्ण भाट पनि थिए ।
‘वषौंदेखि हामीले प्रयोग गरिरहेको खानेपानी लिफ्टिङ गरेर माथि रहेको मेलखालीमा लैजान लागेपछि विरोध गरेका थियौं,’ मृतक बालकका बाबु गणेशबहादुर महराले भने, ‘सोही विवादलाई लिएर मेलखालीवासीहरु लठ्ठी बोकेर घरमा पुगेर आक्रमणमा उत्रिएका हुन ।’ आक्रमणका क्रममा मृतक बालकका आमा बुबा दुबै गम्भीर घाईते भएका थिए ।

सरकारी वकिलप्रति आशंका
उता, कर्तब्य ज्यान मुद्दामा सरकारी वकिलले भवितब्य घटना भएको बहस भन्दै गरेपछि पेशागत निष्ठमाथि नै आशंका उत्पन्न भएको मृतकका आफन्तको आरोप छ । प्रहरीले पेश गरेको मिसिल र प्रमाणहरु एकातिर हुने तर सरकारी वकिलको बहस अर्कोतिर गइरहेको उनीहरुको दावी छ ।
मृतक बालकका बाबु गणेशबहादुर महराले सरकारी वकिलको वकालतमै शंका देखिएपछि आफूहरुले अधिवक्ता लालबहादुर जाग्रीलाई बहसका लागि आग्रह गरिएको बताए ।
यता, अत्यान्तै अमानवीय क्रुर हत्याकाण्डका रुपमा परिचित सो मुद्दाका अभियुक्तहरुलाई जोगाउन केहि राजनीतिक दववाद समेत परेको प्रहरीको भनाई छ । “प्रहरीलाई पनि निकै दबाब आईरहेको थियो,” अनुसन्धानमा संलग्न एक प्रहरीकर्मी भन्छन, “तर, हामीले कुनै दबाबको प्रवाह नगरेर सुक्ष्म अनुसन्धान गर्दै प्राप्त प्रमाणका आधारमा मुद्दा दर्ता गरेका हौं ।”
थुनछेक बहसका क्रममा बादी नेपाल सरकारका पक्षबाट सरकारी वकिल प्रकाश भण्डारीले बहस गरेका थिए भने प्रतिवादीहरुका तर्फबाट अधिवक्ताद्वय विष्णु भट्ट र हरिप्रसाद भट्टले वकालत गरेका थिए ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।