कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ ।



कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ ।
योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि रेस्टुराँ सञ्चालनलाई खुकुलो बनाइएको छ ।
कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै कतिपय जिल्लामा जारी निषेधाज्ञा क्रमशः खुकुलो पार्न थालिएको छ । तर काठमाडौँ उपत्यकाको हकमा भने अझै जारी निषेधाज्ञा खुकुलो बनाउन सक्ने अवस्था आई नसकेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
काठमाडौँ उपत्यकामा असारको सुरुआतसँगै आर्थिक गतिविधि बढाउन सम्बद्ध जिल्ला प्रशासन कार्यालयले घर तथा भवन निर्माण, ढुवानी, राहत वितरण, भन्सार, आन्तरिक राजस्व, कर तथा शुल्क लगायत आवश्यक काममा सहजीकरण गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक उच्च अधिकारीका अनुसार जारी निषेधाज्ञाको पालना गर्दै विकास निर्माण, ढुवानीलगायत आर्थिक गतिविधि बढाउने कार्यमा अवरोध गरिएको छैन । आर्थिक वर्ष अन्तिम महिनाको करलगायत हिसाबकिताब मिलाउनसमेत व्यापार, व्यवसायी नियमित कार्यालय जानुपर्ने भएकाले पनि स्वास्थ्य मापदण्डलाई ध्यान दिई खुकुलो गरिएको हो । गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले खबर लेखेका छन् ।


















