सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्नसक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । महाशाखा अन्तर्गतको नेपाल बाढी सूचनाले सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्य पहाडी भूभाग भएर बहने केही स–साना सहायक नदीहरूमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्न सक्ने बताएको छ ।



साथै केही साना नदीमा आकस्मिक बहाव पनि हुनसक्ने पूर्वानुमान रहेकोले स्थानका स–साना नदी जलाधारमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । नेपालमा मनसुनको आगमन भइसकेको छ । तर, पश्चिम नेपालमा भने अहिले पनि बाढी र पहिरोको क्षति नियन्त्रण गर्न खासै पहल भएको पाइएको छैन ।
‘कोरोना संक्रमणका कारण यस पटक तयारी केहि ढिलो भइरहेको छ,’ रेडक्रस कैलालीका सभापति उत्तम जोशीले भने, ‘हामी भोलि÷पर्सीबाटै यसमा लाग्छौँ ।’ कैलालीको मोहना, कान्ध्रा र कर्णालीमा आउने बाढीले जिल्लाको दक्षिणी क्षेत्र डुबानमा पर्ने गरेको छ । यस बर्ष समस्या हुन नदिन जिल्ला प्रशासन कार्यालयले तयारी सुरु गरेको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
‘आज पनि हामीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अनुगमन गरेर फर्किंदै छौं,’ उनले भने, ‘मनसुन सुरु हुँदैछ हामीले पनि तयारी प्रारम्भ गरेका छौं । ’ अहिले प्रशासनले आन्तरिक तयारी सुरु गरेको जनाए पनि नीतिगत रुपमा भने तयारी भएकै छैन ।
सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप तयारी हुने उनले बताए । उता कञ्चनपुरमा महाकाली र दोदा नदीले प्रत्येक बर्ष स्थानीयलाई उठिबास लगाउने गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर १२ भुजेला र १८ सालघारीमा सामान्य वर्षामा समेत डुबान हुने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए । ‘ती क्षेत्रमा अहिले उद्धारका समाग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं,’ उनले भने ‘हामीसँग सामग्री कम छ । भएकाहरूबाटै काम चलाइरहेका छौं ।’
पर्याप्त पूर्व तयारी नहुँदा सुदूरपश्चिम प्रदेशमा वर्सेनी विपद्बाट करोडौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो, बाढीका साथै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागी लगायतका विपद् र वन्यजन्तु आक्रमणबाट ठूलो मानवीय क्षति तथा अन्नबालीको नोक्सानी हुँदै आएको छ ।

























