काठमाडौं – गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे उर्फ राजीव गुरुङ तेस्रो पटक मन्त्री बनेका छन् । उनी एक महिनामै तीन पटक मन्त्री बनेका हुन् । गण्डकी प्रदेशमा सबैभन्दा बढी पटक मन्त्री बन्ने सांसद पनि मनाङे बनेका हुन् । उनी आज फेरि मन्त्री बनेका छन् ।



गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बनेपछि नयाँ सरकार गठन भएको हो । मनाङे नयाँ सरकारमा मन्त्री बनेका हुन् । उनले आजै सपथ ग्रहण गरेका छन् । यसअघि उनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रिमण्डलमा दुई पटक मन्त्री बनेका थिए ।
पहिलो पटक बैशाख १७ गते विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री पद जोगाउन गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । त्यसको १० दिनपछि मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएका थिए । तर विपक्षी गठबन्धनले पनि बहुमत जुटाउन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले गुरुङ फेरि मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री गुरुङले मनाङेलाई दोस्रो पटक मन्त्री नियुक्त गरेका थिए । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका मुख्यमन्त्रीका पक्षमा बहुमत नरहेपछि मनाङेले उनको साथ छोडेका थिए । मनाङेको समर्थनमा विपक्षी गठबन्धनका पक्षमा बहुमत पुगेको हो ।
आज प्रदेश प्रमुख सीता पौडेलले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री नेपालीले आज साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गरे । उनले आज पाँच जनाको मन्त्रिमण्डल पनि गठन गरेका हुन् ।
आज मन्त्री हुनेमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० छन् । मन्त्रीहरुले विनाविभागीय रुपमा शपथ लिएका हुन् ।

























