डोटी जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सम विकास केन्द्र (ईडीसी) ले जोरायल गाउँपालिकालाई मंगलवार ५ लाख १६ हजार ५०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।



पछिल्लो समय गाउँपालिकामा रहेका नागरिकमा कोरोना संक्रमण देखिन थालेका कारण स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थाका वित्तीय अधिकृत कृष्णसुन्दर श्रेष्ठ जानकारी दिए ।
उनका अनुसार वितरण गरिएका स्वास्थ्य सामग्रीमा मेडिसियन शय्या, इलेक्ट्रोनिक वाटर हिटर, पीपीइ सेट, पल्स अक्सोमिटर, ईलेक्ट्रिक वाटर हिटर, थर्मल गन, सर्जिकल मास्क, ग्लोब्स, स्यानिटाईजर साबुन, सर्जिकल मास्कलगायत स्वास्थ्य सामग्री रहेका छन् ।
कोभिड–१९ को दोस्रो लहरको महामारीले गाउँपालिकाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले प्रदान गरिएको स्वास्थ्य सामग्रीले कोरोना संक्रमितको उपचार तथा रोकथाममा निकै सहज हुने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्री गाउँपालिकामार्फत रहेका संस्थागत आइसोलेसन सेन्टर तथा गाउँपालिकाअन्तर्गत स्वास्थ्य संस्था स्वास्थ्य एकाई र प्राथमिकताका आधारमा अन्य वडाका स्वास्थ्यले समुदायका गरीब, दलित, विपन्न, महिलालाई प्राथमिकताको आधारमा वितरण गरिने अध्यक्ष ओझाले जानकारी दिए ।
विश्वव्यापी महामारीकोरूपमा रहेको कोरोना संक्रमणको महामारीको समयमा प्राप्त भएका सामग्रीले गाउँपालिकामा रहेका संक्रमितको उपचारमा ठूलो सहयोग पुग्ने गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताए ।
उनले भने, ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री पाएका छौं, संक्रमितको उपचारका लागि हामीलाई निकै सहज हुनेछ ।’

























