यस वर्षको गाईजात्राका अवसरमा काठमाडौं उपत्यका प्रायः सुनसान देखिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को पहिलो दिन मंगलबार विगत वर्षजस्तो रमझम छैन ।
उपत्यकामा नै कोरोना भाइरसको संक्रमण फैलने क्रम बढेकाले कम मानिसमात्र बाहिर निस्किएका छन् । गाईजात्राको बढी रमझम हुने वसन्तपुर दरबार क्षेत्रमा पनि फाट्टफुट्टमात्र झाँकी देखिएका छन् ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समातेर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यो पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष नीलकाजी शाक्य आफ्नो जीवनकालमा पहिलोपटक सबैभन्दा सुनसान गाईजात्रा यस वर्ष देखेको प्रतिक्रिया दिए ।
विगत वर्षका गाईजात्रामा खुला दिलले असन, इन्द्रचोक र वसन्तपुर क्षेत्रका मानिस विगतमा परिवारबाट सबै जना निस्कने गरेकामा यस वर्ष संस्कतिलाई निरन्तरता दिने उद्देश्यले एकदुई जनामात्र निस्केको पनि उनले जानकारी दिए । ( रासस)