काठमाडौँ-पूर्व सचिव भीम उपाध्यायले नेपालको लागि गाँजा वरदान भएको बताएका छन्। उपाध्यायले नेपालको अर्थतन्त्र पहिले गाँजा मुखी भएपनि बीचको समयमा विदेशी प्रभावले गर्दा गाँजा प्रतिबन्धित हुनु दुर्भाग्य भएको बताएका हुन्।



उपाध्यायले भने, ‘गाँजाको अमृत सरहको उपयोग छ। स्वास्थ्यको लागि, अर्थतन्त्रको लागि। हाम्रो क्षेत्रमा भएको सबै भन्दा उपयोगी, सबै भन्दा लाभकारी, सबै भन्दा नगदेबाली। त्यसको हजारौं उपयोग छ। गाँजा महादेवले कालो सुन दिएको हो नेपालको लागि। साँढे चार दशक अगाडीसम्म हामीले धेरै आम्दानी गथ्यौँ। गाँजामा आधारित अर्थतन्त्र थियो हाम्रो। तर हामीले प्रतिबन्ध गर्यौ।’
उपाध्यायले नेपालको भूबनोट नै गाँजामैत्री भएकोले गाँजालाई प्रतिबन्ध गर्दा दूरदराजका निम्न वर्गीय व्यक्तिहरु प्रभावित भएको बताए।
गाँजाले लट्ठिएपछि अपराध पनि कम हुने उपाध्यायको भनाइ छ। उनले भने, ‘गाँजा खाने समाज एकदमै शान्त समाज हुन्छ। जुन जुन देशमा गाँजालाई प्रतिबन्ध लगाइएको छैन। नेदरल्याण्डमा गाँजा क्याफेमा लिन सकिन्छ। त्यहाँ अपराध आधा घटेको अनुन्सनधानले बताउँछ।’
केही समय अघि पनि उपाध्यायले गाँजा माथिको प्रतिबन्ध फुकुवा मात्र भए एक अर्ब बैदेशिक लगानीमा गाँजा प्रशोधन कारखाना खोलाउने जिम्मा आफ्नो भएको प्रतिक्रिया दिएका थिए। उपाध्यायले सामाजिक सञ्जालमा लेखेका थिए, ‘बहुमूल्य गाँजाको बहुआयामिक औषधीय, मनोरञ्जनात्मक तथा औद्योगिक सदुपयोग कसरी गर्ने? भन्ने विषयमा गम्भीर अध्ययन गर्न संसदीय समिति गठन गरियोस्। सो समितिमा बिज्ञहरूलाई समेत संलग्न गराई अध्ययन गरेर सरकारलाई अनुकूल कानुनी एवम् संस्थागत ब्यवस्था गर्न सिफारिसका साथ निर्देशन दिईयोस्।’
लाखौंलाई चाँडै रोजगारी दिंदै धनि बनाउनु पर्छ। गाँजाको फसल ४ महिनामैं तयार हुन्छ र विश्व बजारमा अहिले नेपालको गुणस्तरीय रैथाने गाँजाको ठूलो माग छ। यो पर्यावरण स्वच्छ पार्ने महत्वपूर्ण वनस्पति पनि हो। त्यतिकै गाँजा शिव भगवानलाई चढाईने गरिएको हैन नि? भगवानलाई चढाईने सबै वनस्पतिको महिमा अपरम्पार छ। बस नेपालीको बुद्धिको बिर्को खुल्न मात्र पर्छ–उपाध्यायले लेखेका छन्–‘अब सबै नेपालीको दिमागको बिर्को खोल्ने काम विवेकीहरूले गर्दैरहनु पर्छ।

























