डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका नगरप्रमुख भीम बहादुर साउँदले कोरोनाभाईरस विरुद्धको खोप खरिद्का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेका छन्।



आईतबार मन्त्रालयलाई पत्र लेख्दै गर्दै प्रमुख साउँदले कोरोनाभाईरस महामारी बढिरहेको स्थितिमा नगरवासीको जीवन रक्षाका लागि नगरपालिकाले आफ्नै लगानीमा १ लाख थान खोप खरिद् गर्नका लागि अनुमति दिन माग गरेका हुन्।
उनले भने,’संघीय सरकारले नै दिने भन्या छ, दिए ठिक छ, नदिए नगरलाई नै खरिद्का लागि अनुमति दिन माग गरेका छौँ, जनताको जीवनरक्षा नै पहिलो प्राथमिकता हो, यदि संघले दिएन भने विकास बजेट काटेर भएपनि खोप दिन्छौँ।’
हाल ५० हजार नागरिकलाई दुई डोज पुग्नेगरि १ लाख डोजका लागि अनुमति माग गरिएको उनले बताए। पत्रमा नगर क्षेत्रमा कोरोना संक्रमण उच्च रहेको पनि जनाएको छ।
महामारी रोकथामका लागि खोप आवश्यक भएकाले सरकारले निर्धारण गरेको मूल्य र मापदण्ड बमोजिमको अनुमति दिन माग गरिएको छ।
नगरपालिकाले परशुराम सहित, जिल्लाको भागेश्वर गाउँपालिका र आलिताल गाउँपालिकाका स्थानीयहरुले पनि जोगबुडा अस्पतालबाटै स्वास्थ्य सेवा लिँदै आएकोमा अस्पतालको व्यवस्थापन पनि नगर आफैले गरिएको उल्लेख गरेको छ।





















