नेपाली सांगीतिक दुनियाँ अहिले भाइरलको पछि छ । भाइरल र उच्छृङ्खल शब्दले युटुबमा राम्रो भ्यूज त पाएका छन्, तर यी गीतले नेपाली सांगीतिक क्षेत्रलाई अगाडि बढाउन मद्दत भने गर्दैनन् ।
तर, कहिलेकाही केही यस्ता गीतहरु सिर्जना हुन्छन्, जसले मानिसलाई धेरै समय सोच्न वाध्य पारिदिन्छ । गायक प्रकाश सपुतले सार्वजनिक गरेको ‘बदला बरिलै’ बोलको गीत त्यसको एउटा उदाहरण हो ।
संगीत क्षेत्रमा करिअर बनाउन लागेकी एक यूवतीको करिअर कसरी एक पुरुषले बर्बाद पारिदिन्छ र उसले त्यसको बदला कसरी लिन्छे भन्ने कथा भिडियोमा बुनिएको छ । गायक सपुतले नै निर्देशन गरेको भिडियो पनि उत्कृष्ट छ ।
नायिका केकी अधिकारीले ३ घन्टाको चलचित्रमा चित्रित गर्ने आफ्नो अभिनयलाई १५ मिनेटको भिडियोमा नै सशक्त पाराले प्रस्तुत गरेकी छिन् । ध्रुव कोइरालाको नेगिटिभ अभिनयले पनि दर्शकको मन जित्छ ।
अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन छ । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।
१०–१५ मिनेटको गीतबाट पनि समाजलाई सशक्त सन्देश दिन सकिन्छ र हिट हुनका लागि समाजलाई नै नपच्ने खालका शब्दमा रुमल्लिएर बस्न आवश्यक छैन भन्ने बलियो उदाहरण गायक सपुतले यो गीत मार्फत प्रस्तुत गरेका छन् ।