धनगढी,१० जेठ । कैलालीको गोदावरी नगरपालिकामा कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा नहुने भएको छ । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न नसकिने भएकाले बार्षिक परीक्षा नगर्ने निर्णय गरिएको हो ।



गोदावरी नगरपालिका नगर शिक्षा समितिको सोमबार बसेको बैठकले बार्षिक परीक्षा बिनै पहिलो र दोस्रो परीक्षा, निरन्तर विद्यार्थी मुल्याङ्कन र बैकल्पिक मुल्याङ्कनलाई आधार मानी बार्षीक नतिजा निकाल्न विद्यालयहरुलाई अनुरोध गरेको गोदावरी नगरपालिकाको शिक्षा शाखाद्धारा जारी सूचनामा उल्लेख छ ।

जसमा पहिलो र दोस्रो त्रेमासिक परीक्षालाई ४० प्रतिशत, निरन्तर विद्यार्थी मुल्याङ्कन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालयले विद्यार्थीको अनुकुल उपयुक्त वैकल्पिक मूल्याङ्कन विधिबाट २० प्रतिशत गरी बार्षीक नतिजा निकाल्न भनिएको छ ।
शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्रीद्धारा जारी सूचनामा आधारभूत तह कक्षा ८ को परीक्षाको प्राप्ताङ्क जेष्ठ मसान्त भित्र आईईएमआईएसमा अपलोड गरिसक्न पनि विद्यालयहरुलाई अनुरोध गरिएको छ ।

























