२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

बैशाखमा सबै शैक्षिक संस्था बन्द : स्थानीय तहलाई आइसोलेसन, क्वारेन्टाइन व्यवस्थित गर्न आग्रह

कञ्चनपुर- कोरोना सङ्क्रमण दर बढ्दो रहेको कैलाली, कञ्चनपुरमा वैशाख ३१ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थान सञ्चालन नहुने निर्णय गरिएको छ । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सोमबार बसेको सरोकारवालाको संयुक्त बैठकले संक्रमणलाई मध्यनजर गरेर शैक्षिक संस्था, ट्युसन सेन्टर, तालिम केन्द्र सबै आज मङ्गलबार देखि लागू हुने गरी ३१ गतेसम्म बन्द रहने निर्णय गरेको हो । 

यसैगरी, दुवै जिल्लामा सोमबार देखि राति हिडडुल गर्नमा बन्देज गरिएको छ । बैठकले राति ८ बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक राति हिडडुल गर्नमा बन्देज गरेको हो । यसैगरी, अन्य समयमा पनि नागरिकलाई अनावश्यक रुपमा हिडडुल नगर्न आग्रह गरिएको छ । 

बैठकले दुवै जिल्लामा रहेका सबै स्थानीय तहले यसअघि सञ्चालन गरेका क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गरेर सञ्चालनका लागि स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । गौरीफन्टा प्रवेश बिन्दु भएर फर्किने नेपालीको स्वास्थ्य कार्यालय कैलाली र गड्डा चौकी प्रवेश बिन्दु भएर फर्किएका नेपालीको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले ज्वरो मापन, कोरोना परीक्षण गर्नु पर्ने निर्णय गरिएको छ ।

नेपाल प्रवेश गरेकालाई जिल्लागत रुपमा छुट्टयाएर सम्बन्धित जिल्लाको स्थानीय तहमा पठाइने जनाइएको छ । यसैगरी, सीमावर्ती क्षेत्रमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले नाकामा निगरानी गर्नुका साथै किनमेलका लागि आवतजावत गर्न नदिने निर्णय भएको  छ । 

नेपालीको प्रभावकारी रुपमा स्वास्थ्य परीक्षणका लागि सामाजिक विकास मन्त्रालयसंग थप जनशक्ति माग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यस्तै, बैठकले कैलालीको हकमा गौरीफन्टानाका भई नेपाल प्रवेश गर्ने नागरिकहरुका लागि आवश्यक पर्ने होल्डिङ सेन्टरका हकमा गौरीफन्टा नाका नजिक पर्ने उपयुत्त, स्थान उपलब्ध गराउन धनगढी उपमहानगरपालिकालाई अनुरोध गर्ने र कञ्चनपुरको हकमा गड्डाचौकी नाका भई नेपाल प्रवेश गर्ने नागरिकहरुका लागि आवश्यक पर्ने होल्डिङ सेन्टरका हकमा भिमदत्तनगरपालिकालाई उपयुत्त स्थानमा होल्डिङ सेन्टर  स्थापना गर्ने गरि भिमदत्तनगरपालिकालाई अनुरोध गर्ने निर्णय भइ सकेको छ ।

दुवै जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, ट्युसन सेन्टर, तालिम केन्द्र वैशाख ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको जोशीले जानकारी दिए । यस्तै, तोकिएको मापदण्ड पूरा गरेर सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने निर्णय भएको छ । जोखिम बढ्दै गएकाले दैनिक नित्य, पूजाआजाबाहेक धार्मिक कुनै पनि कार्यक्रम गर्न नपाइने बैठकले निर्णय गरेको छ । सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली कडाइका साथ लागू गर्ने जनाइएको छ । 

यसैगरी, सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायतमा स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गरेर सेवा प्रवाह गर्ने, गराउने बैठकले निर्णय गरेको छ । होटल रेस्टुरेन्टहरु राति ८ देखि विहान ८ बजेसम्म बन्द गर्ने बैठकमा निर्णय भएको छ ।

यस्तै, कैलाली र कञ्चनपुरमा कोभिड जोखिमको विश्लेषण गरेर स्थानीय तह र सरोकारवालासंग आवश्यक समन्वय गरी रणनीति बनाइ कार्यान्वयन गर्ने निर्णय गरिएको जोशीले जानकारी दिए । निर्णयको पूर्ण परिपालना नगरेमा कानून बमोजिम कारबाही गर्ने जनाइएको छ । 

यस्तै, उद्योग, कलकारखाना सञ्चालन गर्ने र निजी तथा सार्वजनिक निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर काममा लगाउने व्यवस्था गर्नु पर्ने निर्णय गरिएको छ ।

यस्तै, सम्बन्धित उद्योग, कलकारखानाले आफ्नो क्षेत्रभित्र आवश्यक पर्ने क्वारेन्टिन, आइसोलेसन पूर्वाधारको प्रबन्धसमेत गर्न लगाउने बैठकले निर्णय गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरु आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर नेपाल राष्ट्र बैङ्कको निर्देशन बमोजिम सञ्चालन गर्नु पर्ने निर्णय गरिएको छ । 

कैलाली जिल्लासंग सीमा जोडिएको गौरीफन्टा नाकाको सोमबार कैलाली र कञ्चनपुरका  प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले निरीक्षण गरेका छन् । 

पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भइसकेकोले भारतका विभिन्न सहरहरुबाट हजारौ नेपालीहरु गौरीफन्टा नाकाबाट  नेपाल प्रवेश गरिरहेका छन् ।  

सोमबार सो नाकाको अवस्था बुझन्का लागि कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र कञ्चनपुरका  प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले निरीक्षण गरेका हुन् । 

कैलाली जिल्लासंग सीमा जोडिएको गौरीफन्टा नाकामा पीसीआर रिपोर्ट बिनाका भारतीय नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । 

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै  पीसीआर रिपोर्ट बिनाका भारतीय नागरिकलाई  नाकामा प्रवेश रोक लगाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।  कारोना नियन्त्रण गर्न नाकामा थप कडाइ गरिएको छ । 

अब देखि भारतीय नागरिकले  सो नाकाबाट आवतजावत गर्दा पीसीआर रपोर्ट अनिवार्य देखाउनुपर्ने जनाएको छ । जिल्लाको गड्डाचौकी, गौरीफान्टा  नाकामा अहिले हजारौ नागरिकहरु स्वदेश भित्रिरहेका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।