कप्तान इयोन मोर्गन र राहुल त्रिपाठीले संहालिएर ब्याटिङ गर्दा इण्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले पञ्जाव किंग्समाथि ५ विकेटको जित हासिल गरेको छ ।



नरेन्द्र मोदी रंगशाला मोटेरामा १ सय २४ रनको झिनो लक्ष्य पछ्याएको कोलकाताले सुरुआती ३ विकेट छिट्टै खेर फालेको थियो । तर चौथो विकेटका लागि कप्तान मोर्गन र त्रिपाठीले ७६ रनको साझेदारी गरी जितको आधार तय गरेका थिए ।
त्रिपाठी ४१ रनमा आउट हुँदा मोर्गन ४७ रनमा अविजित रहे । आन्द्रे रसेल र दिनेश कार्तिकले क्रमसः १० र १२ रन जोड्दा कोलकाताले १६ ओभर ४ बलमै लक्ष्य भेट्टायो ।
यसअघि टस जितेर बलिङ गरेको कोलकाताले विष्फोटक ब्याट्सम्यानले भरिएको पञ्जावलाई १२३÷९ को कमजोर स्थितिमै रोकेको थियो । कोलकाताका लागि प्रदिश कृष्णले ३ विकेट लिए भने प्याक कुमिन्स र सुनील नारिनले २÷२ विकेट लिए ।
पञ्जावका लागि आठौं नम्बरमा ब्याटिङ गरेका क्रिस जोर्डनले ३० रन बनाएपछि १ सय रनको योगफल कटेको थियो । ओपनरहरु मयंक अग्रवाल ३१ र कप्तान केएल राहुलले १९ रन बनाए पनि मध्यक्रम कमजोर रहँदा टिम सस्तैमा समेटिएको हो ।
अघिल्ला खेलहरुमा राम्रो प्रदर्शन गरिरहेका क्रिश गेल पहिलो बलमै आउट भएका थिए भने अर्का विष्फोटक ब्याट्सम्यान दीपक हूडा पनि १ रनमै पेविलियन फर्कन बाध्य भए ।
Views: 316

























