काठमाडौँ । त्रिदेशीय क्रिकेट शृंखलामा नेपाल नेदरल्यान्डसँग ३ विकेटले पराजित भएको छ ।त्रिवि क्रिकेट मैदान काठमाडौंमा मंगलवार भएको खेलमा नेदरल्यान्डले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर २ सय ७ रनको विजयी लक्ष्य पूरा गर्यो ।



नेदरल्यान्डको जीतमा बस डी लीडले ८१ रनको शानदार पारी खेले । उनी अविजित नै रहे ।यसअघि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार पारीको मद्दतमा नेपालले नेदरल्यान्डसामु २०७ रनको लक्ष्य पेश गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन जोडेको थियो ।नेपालको पारीमा कुशल भुर्तेलले सर्वाधिक ६२, दीपेन्द्रसिंह ऐरीले ६०, सोमपाल कामीले २१, कप्तान ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे ।
कुशलको यो लगातार तेस्रो अर्धशतक हो । उनले यसअघि नेदरल्यान्ड र मलेसियाविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए ।डबल लिगमा खेलाइएको प्रतियोगितामा पहिलो भेटमा नेपालले नेदरल्यान्डलाई पराजित गरेको थियो ।प्रतियोगिताको अर्को प्रतिस्पर्धी मलेसिया भने जीतविहीन छ । लिग चरणको खेल सकिएपछि शीर्ष २ टीमले फाइनल खेल्नेछन् ।

























