बझाङ । दुर्गाथली गाउँपालिका–३ र ४ मा वर्षौंदेखिको खानेपानी समस्या समाधान गर्न सोलार लिफ्ट योजना सञ्चालन गरिएको छ। खानेपानीको अभाव खेपिरहेका १ सय ९६ घरधुरीलाइ राहत मिलेको छ।



विद्युत् नपुगेकाले गाउँमा सौर्यऊर्जा जडान गरी योजना सञ्चालन गरिएको छ। स्थानीयबासी दीपेन्द्रबहादुर माडले पानीको मुहान तल र बस्ती माथि हुँदा लामो समयदेखि खानेपानी समस्या भोगेको बताए।
‘पानी लिन दुई घण्टा हिँडेर खोला पुग्नुपर्ने बाध्यता थियो। उनले भने, ‘खोलामा पालो नपाउँदा घण्टौं लाइन लाग्नुपर्ने समस्या पनि भोगियो। पानीकै कारण बालबालिकाको पढाइ प्रभावित हुँदै आएकोमा अहिले नियमित बनेको र पानीको लागि राति उठेर खोला जानुपर्दा जोखिम मोल्नुपर्ने अवस्था थियो। गाउँमा खानेपानी सुविधा पुगेपछि विकास भित्रिएको अनुभूति भएको माडले बताए।
अर्का स्थानीय कमल बोहराले उपभोग गरेर बचेको पानी करेसाबारीमा प्रयोग गर्दै आइरहेका र खानेपानी समस्याकै कारण बिहानको खाना कहिल्यै समयमा नपाकेनले बालबालिका बासी खाना खाएर विद्यालय जान बाध्य भएको बताए।
साथै बोहराले भने, पानीका लागि खर्चिनुपर्ने समय अन्य काममा लगाएका छौं। बोहराका अनुसार गाउँमै धारा बनेपछि पशुचौपायालाई पानी खुवाउन र सरसफाइ गर्न सजिलो भएको छ।
योजनाका प्राविधिक सिकेन्द्र बहादुर दौल्यालले एक घर एक धाराको अवधारणा अनुसार दुर्गाथली गाउँपालिकाको वडानम्बर ३ र ४ को बस्ती मा १ सय ९६ धारा निर्माण गरिएको बताए।
त्यस्तै, दुर्गाथली गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको साझेदारी र सामाजिक तथा प्राविधिक बिकास सेवा समूह बझाङको सहयोगमा १ करोड २५ लाख रुपैयाँको लगानीमा उक्त योजना सम्पन्न भएको बताए।
अहिले गाउँको काँडागाउँ, देउलेख, थलचौरमा पानी चडेको र सेला गाउँमा केही दिनमा वितरण गरिनेसमेत दौल्यालले बताए। साथै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक कृष्ण प्रसाद जोशीले घरघरमा धारा मात्र नभएर समुदाय स्तरमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको बताए।
वडानम्बर ३ का वडाअध्यक्ष दलबहादुर धामीले योजनालाई दिगो बनाउन स्थानीयबासीको सक्रियता जरुरी रहेको बताएका छन्। उक्त पानी होचो ठाउँबाट १५ सय मिटर उचाइमा निकालिएको छ।

























