आयोजक नेपाल उपविजेता बन्दै त्रिदेशीय नेसन्सकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले बंगलादेशसँग गोल रहित बराबरी खेल्दै उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।



बंगलादेशले नेपाललाई रोक्दा दशरथ रंगशलामा ६ वर्ष पछि घरेलु दर्शकमाझ गोल गर्ने मौका फेरी पनि पूरा भएन । घरेलु टोलीलाई बराबरीमा रोकेको भ्रमणकारी टोली बंगलादेशले ४ अंक जोड्न सफल भयो ।
खेलमा बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो । खेलको २१ औं मिनेटमा त्रिदेब गुरुङले गरेको क्रस बलमा अञ्जन विष्ट अनमार्क रहे पनि सदुपयोग गर्न सकेनन् । अन्जन विष्टको फ्रि हेडर क्रसबारको केहि माथिबाट बाहिरिएको थियो ।
बंगलादेशले अवसर सिर्जना गर्ने क्रममा ३७ औं मिनेटमा मोहमद इमोनको हेडर दिनेश राजवंशीले किलियर गर्दै बचाएका थिए । खेलको ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रिकिक पोस्ट नजिकबाट बाहिरिदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।
खेलको ५९ औं मिनेटमा सुनिल बलको पासमा डिबक्सको ठिक बाहिर रहेका अन्जन विष्टको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहमद सैदुल आलमले सजिलै नियन्त्रणमा लिन सफल भएका थिए ।
६२ औं मिनेटमा रंजित धिमालको क्रसमा अभिशेक रिजालको हेड बलले पोस्टको दिशा लिन सकेन । खेलको ८२ औं मिनेटमा दर्शन गुरुङको हेड बल क्रसबारमा लागेर बाहिरिँदा नेपालले अग्रताको सुनौलो अवसर गुमाउन पुगेको थियो ।
बराबरी खेलेको खेलमा तीन खेलाडीले डेब्युको मौका पाए ।
मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले सुरुवाती–११ मै डेब्युको अवसर पाउँदा यस्तै डिफेन्डर निशान खड्काले रञ्जीत धिमालको स्थानमा ७१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
फाइनल प्रवेश गरेका टोलीद्वय नेपाल र बंगलादेशले सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

























