महेन्द्रनगर: कृषि ज्ञान केन्द्र कञ्चनपुरले सञ्चालन गरेको नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँको दोधारा चाँदनी नगरपालिकाका किसान मसलाबालीमा सक्रिय भएर लागेका छन् ।



गत वर्ष नमूना गाउँ कार्यक्रमअन्तर्गत दोधारा चाँदनीका मसलाखेतीमा आबद्ध किसानलाई बीउ, मसला उद्योग स्थापनाका लागि घर निर्माण र मेशिनरी सहयोगका लागि ५० लाख अनुदान दिइएको कृषि ज्ञान केन्द्रका प्राविधिक जनकबहादुर सिंहले जानकारी दिए ।
दोधारा चाँदनीमा मसला उद्योग सञ्चालनका लागि चालु आर्थिक वर्षमा ५० लाख अनुदान रकमसमेत विनियोजन गरिएको छ । उनले उत्पादन र उत्पादकत्वलाई वृद्धि गरी निर्यात प्रर्वद्धन गर्ने उद्देश्यका साथ नमूना कृषि गाउँ स्थापना गरिएको बताए ।
कृषि ज्ञान केन्द्रका अनुसार यहाँको बेलौरी, पुनर्वास नगरपालिका र बेल्डाँडी र लालझाडी गाउँपालिकामा नमूना उखु गाउँ, भीमदत्त नगरपालिकाका नमूना केरा खेती गाउँ, दोधारा चाँदनीमा नमूना मसला, वेदकोटमा केरा र तरकारी नमूना गाउँ, शुक्लाफाँटा नगरपालिकामा नमूना तरकारी गाउँ र कृष्णपुरमा नमूना बाख्रापालन सञ्चालनमा रहेका छन् । “सबै तहमा नमूना गाउँका लागि किसानलाई आबद्ध गराएर ५० लाखका दरले अनुदान विनियोजन गरिएको त छ”, सिंहले भने, “यो कार्यक्रम यहाँ निकै प्रभावकारीरूपमा अघि बढेको छ ।”
त्यसैगरी मुख्यमन्त्री नमूना गाउँ मसलाबाली समन्वय समिति दोधारा चाँदनीका अध्यक्ष टीकादेवी मगरले किसान मसलाबालीमा सक्रिय हुँदै गइरहेको बताए । उनले दोधारा चाँदनी–९ का करिब २०० किसानले ९० बिघा जमिनमा बेसार खेती गरिरहेको जानकारी दिए । “बस्तीमा मसला प्रशोधन उद्योग जडानको अन्तिम तयारीमा छ”, अध्यक्ष मगरले भने, “गत वर्ष लकडाउनका कारण मेशिन सञ्चालनको काममा ढिलाइ भयो ।”
ज्ञान केन्द्रसितको समन्वयमा बेसार निर्यात भइरहेको जानकारी दिँदै उनले भारतीय व्यापारी पनि गाउँमा बेसार खरिदका लागि आइरहेको बताए । कोरोना भाइरसको सङ्क्रमणका बेला बेसारपानीको प्रयोगबारे चर्चा पाएसँगै यसले बजार पाउनेमा किसान आशावादी रहेको अध्यक्ष मगरको भनाइ छ ।

























