बैतडी,२७ फागुन । घरभित्रै निस्सासिएर बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना बेहोस भएका छन्। मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–३ पुडिलका अन्दाजी ३५ वर्षीय राजसिंह साउँद छन्। यस्तै बेहोस हुनेमा राजसिंहकै भतिजी २० वर्षीया सरिता रहेकी प्रहरीले जनाएको छ।



गएराति बन्द कोठाभित्रै हिटर बालेर सुतेका दुवैजना बिहिबार बिहान बेहोस अवस्थामा फेला परेका मृतकका दाइ चन्द्रले जानकारी दिए। राजसिंहको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा पाटन नपुग्दै मृत्यु भएको हो।
सरितालाई भने उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। मृतक राजसिंहको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको साउँदले बताए।
Views: 506

























