बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को कोठियाघाट र सम्झना सामुदायिक वनभित्र घाँस काट्न गएकी मधुवन ३ कोठियाघाट बजारकी एक महिलालाई बाघले आक्रमण गरेको हो।



पाटेबाघको आक्रमणबाट कोठियाघाट ३ की २७ वर्षीय रिना सुनारको ज्यान गएको जनाइएको छ। बुधबार दिउँसो २ बजेतिर समूहमा घाँस काट्न गएका बेला पाटेबाघले सुनारलाई आक्रमण गरेको थियो।
यसअघि फागुन १७ गते मात्रै बर्दियाको गेरुवामा पाटेबाघले भैंसी चराउन गएका ६५ वर्षका एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो। योसँगै बर्दियामा यस वर्ष बाघको आक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो समय बर्दियाका बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी थप त्रसित बनेका छन्।बाघ आक्रमणका घटना दिनहु बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाइभैसी चराउन तथा घाँस दाउरा लिन नजान पटक पटक आग्रह गरिरहेको छ।
पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जंगल प्रवेश नगर्न र गर्नै परे पनि एक्लै नजान डिभिजन वन प्रमुख महेन्द्र राज वाग्लेले सम्पूर्ण स्थानीयमा आग्रह गरेका छन्।

























