डडेल्धुरा ।डडेल्धुरा जिल्लाको भित्री मधेश जोगबुडामै अत्याधुनीक सेवा सहितको पहिलो पोलीक्लिनिक सञ्चालनमा आएको छ । जिल्लाकै आधा भन्दा बढि जनघनत्व रहेको परशुराम नगरपालिका १२ जोगबुडामा पहिलो पटक परशुराम पोलीक्लिनिक प्रा.ली संचालनमा आएको हो ।



मंगलवार एक कार्यक्रमको आयोजना गरि पोलिक्लिनिकको उद्घाटन गरिएको हो । उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथि परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँद रहेका थिए। भित्रीमधेसका नागरीकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिने उदेश्यका साथ सञ्चालनमा ल्याईएको पोलिक्लिनिकले यस क्षेत्रका नागरीकलाई सानो उपचारका लागि समेत कैलाली कंचनपुर तथा भारत धाउनुपर्ने अवस्था हटेर जाने पोलिक्लिनिकका सञ्चालक दिनेश जोशीले बताए ।
उनले भने “सानो–सानो उपचारकालागि मात्रै पनि कैलाली कंचनपुर र भारत धाउनुपर्ने बाध्यता रहेको छ । त्यसकारण भित्री मधेसका नागरिकको त्यो बाध्यतालाई मध्यनजर गर्दै उनिहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि यो पोलिक्लिनिक सञ्चालनमा ल्याईएको हो।” उनले स्थानीय नागरीकको स्वास्थ्य उपचार तथा सहजताका लागि जोगबुडामै गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्य अनुरुप पोलीक्लिनीक संचालनमा ल्याएको संचालक जोशीले जानकारी दिए ।
आफु पनि स्वास्थ्य बिषयको बिद्यार्थी रहेको र स्थानीय बासिन्दा भएकाले स्थानीय नागरिकका स्वास्थ्य सेवाका हरेक समस्या नजीक बाट नियाल्दै आफुले व्यक्तिगत लगानीमा पोलीक्लिनीक संचालनमा ल्याएको जोशीले बताए ।
हाल सम्म परशुराम ,आलिताल र भागेश्वरका स्थानीय नागरीकहरु उपचारका लागि कैलाली कंचनपुर र भारतको खटीमा, बरेली धाउने गर्दछन भने ती न्यून आयस्रोत भएका यस ठाँउका बासिन्दाहरुले घर,खेत,सुन धितो राखेर उपचार गर्नु पर्ने उनीहरुको बाध्यता रहिआएको छ ।
परशुराम नगरपालिकामा जोगबुडा अस्पतालले दिने स्वास्थ सेवामा परशुराम पोलिक्लिनीकले टेवा पुर्याउने परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउँदले बताए ।
पोलिक्लिनिकले एक्सरे, युएसजि, भिडियोएक्सरे, ईसिजी, प्रयोगशाला, अक्सीजन, जनरलसर्जन सेवा, नेवुलाईजर सेवा ओपिडी र फारमेसी सेवा लागयत सबै खाले सेवा दिई रहेको प्रा.लि.का हाडजोर्नी विशेषज्ञ डा.ईन्द्र शाहले जानकारी दिए ।
फागुन २९ गते देखी थप विशेसज्ञ डाक्टरको सेवा दिईने समेत शाहले बताए । खासगरी भित्री मधेसमा रहेका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका नागरिकलाई लक्षित गरि सञ्चालनमा ल्याइएको पोलिक्लिनिकले स्थानीय नागरीकहरुलाई स्वास्थ्य सेवा लिनका लागी धेरै सहजता हुने स्थानीय शिक्षक करबीर सिंह बोहराले जानकारी दिए ।
स्थानीय स्तरमा सञ्चालनमा आएको पोलिक्लिनिकले स्थानीयहरुमा खुशी छाएको छ ।उक्त पोलिक्लिनिकको उद्घाटन प्रमुख अतिथी परशुराम नगरपालिकाका मेयर साउँदले गरेका हुन।

























