काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको विश्वास गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्दै देउवाले भने, ‘संविधान सम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालत बाहेक को छ यहाँ ? अदालतलाई विश्वास गरौं न प्लिज । अदालतलाई विश्वास नगरेर कसको गर्ने यहाँ ?’



काँग्रेसलाई काँग्रेसबाहेक कसैले हराउन नसक्ने देउवाको दाबी छ । यस्तै देउवाले प्रधानमन्त्री ओलीको खिलापमा काँग्रेसका नेताहरू बोल्न सक्ने भएको भन्दै धन्यबाद दिए ।

‘मैले बोलेको थिएँ, तपाईहरुलाई याद होला । कम्युनस्टि पार्टीको शासन आएपछि बोल्न, लेख्न पाइने छैन । हास्न, रुन पनि पाइने छैन भनेको थिएँ,’ मञ्चमा रहेका नेताहरूतर्फ हेर्दै देउवाले भने, ‘आज बल्ल बोल्ने भएछन् । ओलीको खिलापमा बोल्ने डर हटिसक्यो धन्यवाद छ। ओलीको खिलापमा बोल्न सक्ने हुनुभएछ । अझै प्रचण्डको खिलापमा बोल्न नडराउनुस् है।’
देउवाले प्रचण्डको खिलापमा पनि बोल्नुपर्ने बताए । ‘प्रचण्डको खिलापमा बोल्न हामी डराउँछौं । प्रचण्डको खिलापमा बोल्न डराएको डराएइ छन् नि यहाँ । प्रचण्ड खिलापमा अझै बोल्न नसक्ने भएका छन् विचराहरु । त्यस कारण म यस्तो पार्टी बनाउन चाहन्छ, जुन दिन प्रचण्ड र ओलीको खिलापमा बोल्न सक्ने हिम्मत भएको पार्टी बनाउनुपर्ने आवश्यकता छ । त्यही काममा हामीले लाग्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा नेता प्रकाशमान सिंह, अर्जुननसिंह केसी, रामशरण महत, प्रदीप पौडेल लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

























