कैलालीको गोदावरी नगरपालिकामा २५ करोड बिरुवा रोप्ने अभियानको घोषणा गरिएको छ । बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी हरियाली नेपाल अभियान अन्तरगत नगरभित्र २५ करोड र देशभरी ५ सय करोड बिरुवा रोप्ने अभियानको घोषणा गरिएको हो ।



हरियाली नेपाल अभियानका संयोजक पुस्कर जोशीले वातावरणीय संरक्षण संगै, देशको अर्थतन्त्रलाई सहयोग पुगाउन अभियान थालनी गरीएको बताए । ‘नेपालमा वातावरण प्रदुषण एकदमै उच्च गतिमा बढीरहेको छ’ उनले भने ‘अभियान मार्फत बिरुवा रोपेर वातावरणलाई हरीयाली र सुन्दर बनाउने हाम्रो अभियान हो ।’
उनले सामाजिक संजाल मार्फत ६ महिना अगाडी देखि अभियानका बारेमा बिभिन्न व्यक्तिहरु संग छलफल गरेर योजना बनाईएको र त्यसैलाई मुर्तरुप दिन अभियानको घोषणा गरिएको बताए । उनले अत्तरियामा केन्द्रिय कार्यालय रहने गरी देशभरी एकैसाथ कामको थालनी गरीने बताए । उनले व्यवसायिक प्रयोजनका विरुवा समेत रोपेर देशको आर्थिक आयआर्जन बढाउने अभियोनको उद्देश्य रहेको बताए । ‘व्यवसायिक रुखहरु जस्तै पाउलानिया, सागवान, मलेसियन साल, रक्तचन्दन, श्रीखण्ड, निम, कागती, ओखर लगायतका विरुवा रोप्ने छौ’ उनले भने ‘विरुवा रोप्नका लागि केन्द्रिय सरकार, प्रदेश सरकार, वन कार्यालय, स्थानिय तह, सामुदायिक वन लगायकता निकाय संग समन्वय गरिने छ ।’
उनले अभियान अन्तरगत सडकहरुलाई पनि जैविक मार्गका रुपमा विकास गरिने बताए। उनले अभियानलाई कार्यान्वय गर्नको लागि केन्द्र देखि स्थानिय तह सम्म बिभिन्न समितिहरु गठन गरिने बताए ।
‘प्रत्येक विद्यालयमा हरीयाली क्लबहरु स्थापना गरेर कक्षा ६ देखि माथिका विद्यार्थीहरुलाई बर्षभरीमा प्रत्येक विद्यार्थीले २० ओटा विरुवा अनिवार्य रुपमा लगाउने वातावरण वनाउने छौ’ उनले भने ‘थप बिरुवा रोप्नका लागि प्रत्येक जिल्ला, प्रदेश, स्थानिय तहमा शाखाहरु विस्तार गरिने छन ।’ उनले अभियान २÷४ व्यक्तिको प्रयासमा सफल हुन नसक्ने भएकाले त्यसका लागि सबैको साथको आवश्यकता रहेको बताए ।

























