बैतडी, २८ कार्तिक – बैतडीमा बस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ।



जसमा प्रहरी जवान रणबहादुर चन्द र भीनपा ८ की १५ वर्षीय किशोरी कृतिका कार्की रहेका छन्। सबै शवलाई जिल्ला अस्पताल ल्याइएको छ।
मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन्। दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परेर मृत्यु भएकाहरुमध्ये ८ जनाको शव निकालिसकिएको छ। एक जना भने बससँगै अड्किएका छन्। उनको शव आज दिउँसो निकाल्ने तयारी छ।
शव संकलनमा खटिएका प्रहरी जवान चन्द्रदेव भट्टका अनुसार शव संकलन गर्न ७ घण्टा समय लाग्यो। ुभीरबाट शवहरु निकाल्न विहान पौने ५ मा सक्यौ,’ उनले भने, ‘अड्किएको शव निकाल्न जाँदैछौं। माटो फालेको र ढुंगाहरु पनि खस्दा अफ्ठ्यारो भइरहेको छ।’
दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ खोड्पेमा दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराति साढे १० बजेतिर सानो घुम्तीबाट करीब ६ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो।
घाइतेहरुको भने प्रहरी र स्थानीयवासी मिलेर घटनास्थलबाट उद्धार गरिएको थियो। दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ ।


















