२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

कृष्णपुर–१ भेटघाटफाँटामा डेढ दशक पछि विजुली पुग्यो

कञ्चनपुर, २३ कार्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा वस्ती बसेको डेढ दशक पछि विजुली पुगेको छ ।

विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका वासिन्दाले अँध्यारोमै बस्नुपर्ने वाध्यताबाट मुक्ति पाएका छन् । वस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत् सेवा नहुँदा स्थानीय वासिन्दाले रातिका बेला टुकीको सहारामा बस्दै आएका आएका थिए ।

“नजिकैको वस्तीमा विद्युत्को व्यवस्था थियो”, समाजसेवी अर्जुनबहादुर साउदले भने, “पूर्वपश्चिम राजमार्गभन्दा झण्डै २०० मिटर टाढा रहेको वस्तीमा विद्युत् सेवा थिएन ।

नजिकैको बस्तीको उज्यालो हेरेर चित्त बुझाउनुबाहेक अर्को विकल्प थिएन । विद्युत् सेवा विस्तार भएपछि टुकीको सहारामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” निकै वर्षपछिको पहलपछि गाउँमा विजुली बाल्न सकिएको उनले बताए ।

“नजिकै वत्ती बलेको देखिन्थ्यो हाम्रो वस्तीमा विद्युत् नहुँदा वत्तीमुनिको अँध्यारो थियो”, करन चन्दले भने, “वस्तीमा विजुली पुगेपछि हर्षको कुनै सीमा नै छैन । वस्तीका सबै जना खुशी छन् ।”

धेरै वर्षको पहलपछि जनप्रतिनिधिसँगै राजनीतिक दलका अगुवाहरुको पहलमा विद्युत् सेवा विस्तार भएको उनको भनाइ छ ।

केही परिवारले सौर्य प्यानलको व्यवस्था गरी उज्यालोको व्यवस्था मिलाएका भएपनि आर्थिक अवस्था कमजोर भएका धेरै परिवारले उज्यालोको व्यवस्था गर्न नसक्दा टुकी बाल्दै आएका थिए ।

“टुकीको धुवाँका कारण बस्तीमा श्वासप्रश्वाससम्बन्धी समस्या अधिक रहेको छ”, कुम्भजङ्ग शाहीले भने, “विद्यालय पढ्ने बालबालिकालाई रातिका बेला गृहकार्य गर्न र पढ्न झनै समस्या थियो । विद्युत्को व्यवस्थाले अब टुकीको सहारामा बस्नुपर्ने अवस्था रहेन ।”

वस्तीका वासिन्दालाई विद्युत् सेवा विस्तार भएपछि सिँचाइ गरी व्यावसायिक खेती गर्न र घरेलु उद्योग सञ्चालन गरी आयआर्जन गर्नका लागि समेत सहज भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।