बैतडी, २१ असोज । बैतडीस्थित रेडियो सेभेनस्टार ९९।२ मेगाहर्जमा कार्यरत पत्रकार केशवराज भट्टमाथि कुटपीट भएको घटना प्रति नेपाल पत्रकार महासंघ बैतडी शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाले आज एक विज्ञप्ती जारी गर्दै कामको सिलसिलामा रहेका पत्रकार भट्टमाथि एसीयन लाइफ इन्स्योरेन्समा कार्यरत तर्कराज भट्ट र सुर्नया ३ का स्थानीय विष्णु भट्टले सतबाँझमा कुटपीट गरेको घटना निन्दनीय भएको उल्लेख गरेको छ ।



शाखा सचिव नरी बडुद्वारा हस्ताक्षरित विज्ञप्तीमा कुनै व्यक्तिसंग केही असन्तुष्टि भएमा कानुनी उपचारको बाटो बाटो छदाँछदै कुटपीट गरिनु निन्दनीय कार्य भएको उल्लेख छ । पत्रकार भट्टमाथि भएको कुटपीटको घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारवाही गर्न पनि महासंघले आग्रह गरेको छ । दोषी उपर कारवाही नभए महासंघ आन्दोलनमा उत्रने समेत विज्ञप्ती मार्फत चेतावनी दिएको छ । यस्तै पत्रकारहरुलाई आचारसंहिता भित्र रहेर विश्वसनीय एवं सन्तुलित समाचार सम्प्रेषण गर्न पनि महासंघले आग्रह गरेको छ ।
यस्तै सामुदायिक रेडियो सेभेनस्टार ९९।२ मेगाहर्जले पनि एक विज्ञप्ती प्रकाशित गर्दै रेडियोमा कार्यरत पत्रकार भट्टमाथि भएको कुटपीटको घटनाको विरोध गरेको छ । रेडियोका अध्यक्ष अमर भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा दोषीमाथि कारवाही गर्न आग्रह गरेको छ ।

























