विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका १० प्रतिशत मानिस कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुन सक्ने बताएको छ ।



डब्लुएचओले विश्वमा रहेका हरेक १० मानिसमध्ये एक जना संक्रमित हुनसक्ने बताएको हो । विश्वका अधिकांश क्षेत्र अझै जोखिममा रहेको बताउँदै डब्लुएचओले यस्तो बताएको हो ।
डब्लुएचओका एक उच्च अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार अझै विश्वका धेरै क्षेत्रमा जोखिम कायमै छ ।
विश्वभर तीन करोड ५४ लाख भन्दा बढी मानिस संक्रमित भएको डब्लुएचओले जनाएको छ । रेकर्डमा तीन करोड संक्रमित देखिए पनि वास्तविक संक्रमितको संख्या ८० करोड नजिक रहेको उसको अनुमान छ ।
पुष्टि भएकाको संख्या भन्दा वास्तविक संक्रमितको संख्या कयौँ गुणा धेरै हुने विज्ञले बताउँदै आएका छन् । कोरोना महामारीको विषयमा छलफलका लागि स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो ।
उक्त बैठकमा सहभागी विज्ञले महामारीको करिब एक वर्षसम्म पनि कोरोना नियन्त्रणका लागि कुनै उपलब्धि हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

























