कञ्चनपुर । प्रहरी कार्यालयलमै आफुहरुमाथि ढुंगामुढा तथा आक्रमण भएपछि कारबाही गर्न प्रहरीले प्रतिबेदन बुझाएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका – ६ स्थित ईलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीमा सनिवार स्थानीय र प्रहरी विच झडप भएको हो ।



पुनर्वास नगरपालिका– ५ ग गाउँको चौतारामा तास खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेर लगेपछि उनीहरुलाई छुटाउन केहि युवाहरुको समुहले आफुहरुमाथि आक्रमण गरेको प्रहरीको आरोप छ ।
प्रहरीले ढुंगामुढा तथा आक्रमण गर्ने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाका छोरा र भतिजामाथि कारबाही गर्न प्रहरीले प्रतिबेदन बुझाएको हो ।
ईलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीमा कार्यरत मेयर थापाका छोरा देवेन्द्र थापा, मेयर थापाका स्वकिय सचिव तथा भतिजा टेक थापा, भतिजा जितु थापा रवि थापाले ईलाका प्रहरी कार्यालयमा नियन्त्रणमा रहेका जुवाडेहरुलाई छुटाउन आक्रमण तथा ढुंगा मुढा प्रहार गरेको प्रहरी प्रतिबेदनमा उल्लेख भएको स्रोतले बतायो ।
आक्रमणमा संलग्न मेयर थापाका भतिजा हिमेश थापा भने भागेको बताईएको छ ।आक्रमणकारीहरुले ईलाका प्रहरी कार्यालयभित्रको कम्प्युटर तोडफोड गर्नुका साथै प्रहरीको गाडीको शिसा फुटाएको प्रहरीले जनाएको छ ।
आक्रमणकारीहरुले टेलिफोन तार समेत चुडालेको प्रहरी प्रतिबेदनमा उल्लेख छ ।ईलाका प्रहरी कार्यालय माथि आक्रमण भएको जानकारी पाएपछि राति १० बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाको नेतृत्वमा प्रहरीको थप टोली त्रिभुवनवस्ती पुगेको थियो ।
प्रहरी चौकीमाथि आक्रमण गरेको आरोप लागेका चार जना र तास खेल्ने क्रममा पक्राउ परेका सात जनालाई राति १ बजे डिएसपी थापाले मेयर थापालाई जिम्मा लगाएका थिए ।
मेयर थापाले आवश्यक परेको बेला हाजिर गराउने शर्तमा सबै जनालाई राति छोडिएको डिएसपी थापाले बताए । मेयर थापाले समय कटाउन चौतारामा तास खेलिरहेका बृद्धहरुलाई छुटाउन गएकाहरुको आग्रहलाई प्रहरीले वेवास्ता गरेपछि स्थानीय बासिन्दाले ढुंगामुढा गरेको र सो क्रममा केही क्षति भएको हुन सक्ने बताए ।


















