काठमाडौं, १९ भदौ- यसवर्ष चार महिना (जेठदेखि भदौ १८ ) सम्म वर्षाका क्रममा आएको बाढी-पहिरोबाट २६२ जनाले ज्यान गुमाएका छन् । बढी-पहिरोले सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ भने आर्थिक क्षति मोरङमा भएको छ ।



गृहमन्त्रालयको तथ्याङ्क अनुसार पहिरोमा परेर २४६ जनाले ज्यान गुमाए । उनीहरुमा १३५ पुरुष र १११ महिला छन् । यस्तै, १९० जना घाइते भएका छन् भने २० जना हराइरहेका छन् । कुल ३७५ परिवार पहिरोबाट प्रभावित भएको मन्त्रालयको तथ्यांक छ ।
बाढीका कारण १६ जनाले ज्यान गुमाएका छन् । उनीहरुमा १० जना पुरुष र ६ जना महिला छन् । यस्तै, बाढीमा परेर ५ जना घाइते छन् भने २० जना हराइरहेका छन् । कुल ६२४ परिवार बाढीबाट प्रभावित भएका छन् ।
गत वर्षको यही अवधिमा पहिरोबाट ७९ जनाले ज्यान गुमाएका थिए भने ७७ जना घाइते भएका थिए । यसैगरि, दुई हजार नौ सय ९३ परिवार प्रभावित भएका थिए । बाढीबाट ७२ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । तीन हजार ५२ परिवार प्रभावित भएका थिए ।
झण्डै ४ करोडको क्षति
यस वर्षको मनसुनमा पहिरोले झण्डै ४ करोडको भौतिक क्षति भएको सरकारी तथ्याङ्क छ । गृहमन्त्रालयका अनुसार पहिरोका कारण ३ करोड ६४ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको भौतिक क्षेति भएको हो ।
गृहमन्त्रालयले क्षतिको जिल्लागत विवरण राखेको छ । सबैभन्दा बढी भौतिक क्षति ताप्लेजुङमा भएको छ । त्यहाँ ५४ लाख बराबरको क्षति भएको गृहको तथ्याङ्क छ ।
गत असार ३ गते वषर्ासँगै आएको पहिरोले ताप्लेजुङ फत्ताङलुङ गाउँपालिका-४ इखावु खानी टोलका केही घर र विद्यालय बगाएको थियो । पहिरोले विद्यालयको चारकोठे पक्की भवन, दुईवटा बाख्रासहितको गोठ, एउटा भान्साघर र एक परिवारका सुँगुर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले ताप्लेजुङपछि पाल्पा बढी क्षति भएको देखाइएको छ । पाल्पामा ४० लाख ७५ हजार बराबरको क्षति भएको आँकडा छ ।

























