२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

रगत व्यवस्थापन गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज ।

कास्की ( पाेखरा )- ह्वाइट हाउस इन होटल । त्यसै होटलका प्रोपाइटर हुन् निश्चल खरेल । उनले आफ्नो २६ औं जन्मदिन विशेष रक्तदान कार्यक्रम आयोजना गरे । कार्यक्रममा २५ युनिट रगत संकलन मात्र भएन, धेरै रक्तदाताहरुले पहिलो पटकसमेत रक्तदाता गर्ने अवसर पनि जु¥यो । नेपाल स्वयंसेवी रक्तदाता समाज (नेस्रस) कास्कीका कार्यसमिति सदस्य समेत हुन् ,उनी । निरन्तर संस्थामा आवद्द भएर रक्त व्यवस्थापनमा उनले अग्रणी भूमिका खेलिरहेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज । अर्थात नेस्वरस । नेपालमै रक्त व्यवस्थापनमा अग्रणी भूमिका खेल्ने संस्था । २०६२ सालमा काठमाडौंमा स्थापित यस संस्थाका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्मचार्य हुन् । नेपालकै सबैभन्दा धेरै पटक रक्तदाता गर्ने व्यक्ति हुन्, कर्माचार्य । हालसम्म १६३ औं पटक रक्तदान गरिसकेका छन् ,उनले । हाल नेपालभर २८ जिल्लामा यसका शाखाहरु बिस्तारसँगै रक्त व्यवस्थापनमा सहजीकरण भएको छ ।
कास्की जिल्लाको शाखा भने सात वर्षअघि सन् २०१४ मा बिस्तार भएको थियो । नेपालभर हजारौंको संख्यामा रहेका स्वयंसेवी सदस्यहरु कास्कीमा भने सयौंको संख्यामा रहेका छन् । यसका संस्थापक अध्यक्ष हुन् तीर्थ राज अवस्थी । अहिले वरिष्ठ सल्लाहकार समेत रहेका अवस्थीले ६२ औं पटक रक्तदान मात्र गरेका छैनन्, जीवनकालमा हजारौं विरामीलाई रक्तव्यवस्थापन समेत गरिसकेका छन् । रक्तदानसम्बन्धी जनचेतनाकै लागि ६ वर्षअघि दुई हप्ते महाकालीदेखि मेची साइकलयात्रा गरिसकेका अवस्थीले रगतसँगको यति लामो निकटता बारे यसरी सुनाएँ, ‘करिब १५ वर्ष अगाडि म पढाइकै शिलशिलामा काठमाडौंमा थिए । मेरो एक जना दाई पर्नेलाई क्यान्सरको उपचारको क्रममा बी पोजेटिभ रगत चाहिएको थियो । यो ब्लड गु्रपको रगत यस अस्पतालमा चाहिएको सानो नोट लेखेर कलेजको क्यान्टिन, बस स्टपमा समेत टासेँर छाड्थे । पछि रगतको व्यवस्था त भयो तर हामीले दाईलाई बचाउन सकेनौंं । यस घटना पश्चात मैले संकल्प गरँे, रक्तअभावले अब म कसैको अकालमा ज्यान जान दिन्न ।’
अहिले कोरोना कहरले सारा विश्व आक्रान्त छ । चार महिनाको लकडाउन र केही हप्ता निशेधाज्ञासँगै हरेक क्षेत्रमा चुनौती थपिएको थियो । यससँगै नेपालभर रक्त व्यवस्थापनमा कठिनाइसँगै थपियो । ब्लड बैंकमा समय समयमा विभिन्न ब्लड गु्रपका रगतको अभाव खड्किइरह्यो । एक त कोरोनाको त्रास र अर्कोतिर मानिसको कम आवातजावातको कारणले यो समस्या देखियो । रक्तसञ्चार केन्द्र र बिरामी आफन्तलाई रगत व्यवस्थापनका लागि हम्मेहम्मे परिरहन्थ्यो ।
नेस्वरस कास्कीका वर्तमान अध्यक्ष जितेन्द्रमान श्रेष्ठ कोरोना कहरको समय रक्त व्यवस्थापनमा दिन रात अहोरात्र खटिए । २०५५ सालबाट निरन्तर रक्तदान गर्दै आएका श्रेष्ठले हालसम्म ७० औं पटक रक्तदान गरिसकेका छन् । सँगै कैयौं बिरामीलाई रगत व्यवस्था गरेर हजारौंको ज्यान बचाएका छन् उनले । उनले ७० औं पटक रक्तदान गरेको सुनाउँदा सबैले जिब्रो टोक्थे । सबै जना हौसिन्थे अनि पहिलो पटक रक्तदान समेत गर्थे । रक्तदान गर्दा कमजोर भइन्छ, विभिन्न रोगहरु लाग्छन् भन्ने आम मानिसको मानसिकतालाई चिर्न उनी हरेक रक्तदान पश्चात ५० देखि १०० किलोमिटर नियमित साइकलिङ गर्छन् ।
उनले दुई वर्षअघि ६२ पटकको पृथक रक्तदानको क्षणलाई स्मरण गर्दै भने, ‘काठमाडौैं ब्लड बैंकमा मैले त्यस दिन बिहानै रक्तदान गरेर ५ घण्टामा १०० किलोमिटर साइलक चलाए । गन्तव्य स्थान थियो भोटेकोसी लास्ट रिसोर्ट । अनि त्यही दिन बन्जी गरे । ‘ब्लड डोनेसन, बाइसाइकलिङ र बन्जी एकैदिनमा गरेर मैले नेपालमै फरक रेकर्ड कायम गरेँ । यो विश्वकै इतिहासमा पहिलो चोटि पनि हो’, खुसी मुद्रामा उनले थपे, ‘एउटा नेपालीको छोरो भएको नाताले यसो गर्दा बिरामीले रगत पायो, मैले सन्तुष्टि र स्वास्थ्य पाएँ अनि देशले फरक साहसिक पर्यटन पायो ।’
लकडाउनको समयमा यस संस्थाले विभिन्न स्थानमा सबै सुरक्षाका मापदण्डहरु अपनाएर दर्जनौ आकस्मिक रक्तदान कार्यक्रमहरु आयोजना ग¥यो । हरेक दिन संस्थाका सदस्यहरुलाई विरामी र रक्तसञ्चार केन्द्रको रगतकै लागि दर्जनौ फोनकल आइरहन्छन् । डोनर खोज्छन् अनि ब्लड बैंकसम्म आफै पु¥याउँछन् पनि । यसबापत् न उनीहरुलाई पैसा मिल्छ न कुनै आर्थिक सहयोग । न कुनै लोभ, लालच वा स्वार्थ नै छन् उनीहरुमा । परोपकारी र स्वयंसेवी कार्य गर्दा मिल्ने भनेको सन्तुष्टि न हो । बिना नाफामुलक यस संस्था कसरी चलेको छ त भन्ने सबैमा कौतुहलता हुनु स्वभाविक हो नै । हरेक महिना कार्यसमिति सदस्यहरु निश्चित रकम उठाउँछन्, कोही उदार हृदयका व्यक्तिहरुले कहिलेकाहिँ सहयोगसमेत गर्छन् । यसरी नै निरन्तर यो संस्था सात वर्षदेखि कास्कीमा रक्त व्यवस्थापनमै आफ्नो छुट्टै छवि बनाउन सफल भएको छ ।
फरक छन् यस संस्थाले बोक्ने उद्देश्यहरु अनि उस्तै पृथक छन् यस संस्थाले गर्ने कार्यहरु । ‘एक घर, एक रक्तदाता’ अभियान यसै संस्थाले सुरुवातमा ल्याएको हो । सम्भव भए हरेक १८ वर्षभन्दा माथि उमेरका परिवारहरु सबैले रक्तदान गर्न सक्छन् । त्यो पनि सम्भव नभए, कम्तीमा परिवारको एक जनाले नियमित रक्तदान गर्ने परिपाटीको विकास गर्न पेरित गर्छ, संस्था । हरेक घर नै ब्लड बैंक र हरेक नेपाली नै रगतको भण्डार ठान्छन् ,उनीहरु ।
अनि नेपालमा रगतको अभाव त कुनै हालतमा हुनै सक्दैन, संस्थाका सचिव विरेन्द्र पराजुली भन्छन्, ‘नेपालमा रक्तअभाव नभई कमजोर व्यवस्थापनको पाटो हो । यही व्यवस्थापन पाटोलाई तदारुकता बनाउन हाम्रो संस्था निरन्तर लागि परेको छ । नेपालभर रक्तव्यवस्थापनमा सहजकर्ताको भूमिका निभाउने हामी कर्तव्य ठान्छौं ।’
हरेक युवाले आफ्नो १८ औं जन्मदिन रक्तदान गरेर पृथक तरिकाले मनाउनु पर्छ भन्ने यस संस्थाको मुख्य उद्देश्य रहेको छ । हरेक तीन –तीन महिनामा सदस्यहरुले रक्तदान मात्र गर्दैनन्, आफ्नै जन्मदिनमा रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएका छन् । सम्भव नभए, ब्लड बैंकमा गएर आफैं रक्तदान गर्छन् । पोहोर सालको जन्मदिनको अवसर पारी पराजुलीले मनिपाल शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।
रक्तदानसम्बन्धी जनचेतनाकै लागि संस्थाको टोली साइकलमै पर्यटकीय गन्तव्यहरु सिरुवारी, भाचोक, ल्वाङ, बार्पाक पुगिसकेका छन् । सँगै ग्रामीण पर्यटनको प्रवद्धन समेत गर्छन् । हरेक शनिवार टोली बनाएरै साइकलमै पोखराका डाँडाकाडा उक्लन्छन् । जहाँ जहाँ पुग्छन्, रक्तदान गर्न उत्प्रेरणा गर्छन् । रक्तदान गर्नु मात्र ठूलो कुरा भने हैन, अरुलाई रक्तदान गर्न हौसाउँन सक्नु ठूलो कुरा ठान्छन् । साइकलिङ कर्म ठाने, रक्तदान धर्म ठान्छन् उनीहरु ।
एउटा व्यक्तिले रक्तदान गर्न पहिला ऊ आफैं स्वस्थ हुनु पर्छ । नियमित व्यायम, सन्तुलित भोजन अनि आराम समेत जरुरत रहन्छ । स्वस्थ रहन समेत साइक्लिङमा लागेको उनीहरु ठान्छन् । अझ पोखरालाई साइकलमैत्री सहर बनाउन बनाएर हराभरा पोखरा बनाउने सपना रगतसँगै जोडिएको छ । ‘पोखरा स्वस्थ रहे मात्र पोखरेली स्वस्थ रहन सक्छ र हामी नियमित रक्तदान गर्न सक्छौं, अध्यक्ष शाक्यले थपें, ‘त्यसैले हाम्रो सपना भनेकै पोखरालाई साइकलमैत्री शहर बनाउन पहल गर्ने र कास्की जिल्लालाई नै पहिलो रक्त अभावमुक्त जिल्ला घोषणा गर्ने । हामी अन्य जिल्लाहरुमासमेत रक्त व्यवस्थापनका लागि समन्वय गर्दै सिंगो नेपाललाई नै रक्तअभाव मुक्त बनाउने संकल्प गरेका छौं ।’
यता रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली नेस्रसले रक्त व्यवस्थापनमा पु¥याएको अतुलनीय योगदानको प्रशंसा गर्दै भने, ‘यो कोरोना कहरको समयमा मात्र नभई सधैं यस संस्थाले रक्त अभावको बेला सहजीकरणको भूमिका खेल्दै आइरहेको छ । सधै. यस्तै साथ सहयोगको अपेक्षारत छौं हामी । ब्लड बैंकमा रक्तअभाव भएको खण्डमा आकस्मिक रक्तदान कार्यक्रम गर्न सधैं यस संस्था तत्पर रहन्छ । यति मात्र हैन, रक्तअभाव भएको खण्डमा हामी विरामीलाई उहाँहरुसँग सहकार्य गर्न समेत भन्छौं ।’
रक्तदाताले सित्तैमा दिएको रगत विरामी पक्षले पनि सित्तैमा पाउनु पर्छ भन्ने संस्थाको माग रहेको छ । रक्तसञ्चारले समेत रगतबाटै आएको रकमले संस्थाको खर्च, रगत जाँच देखि कर्मचारीको खर्च समेत जुटाउनु परेको छ । त्यसैले नेपाल सरकारले यी सबै खर्चहरु बेहोरेर रगतलाई निःशुल्क बनाउनु पर्छ भन्ने संस्थाको अडान रहेको छ ।
यसरी नै हरेक जिल्लामा यस्तै स्वयंसेवी संस्थाहरुको सक्रियता बढाउन सकियो भने लाग्छ नेपालमा रक्त अभावले कसैको पनि अकालमा ज्यान जादैँन । जही कतै रगतको आवश्यक परेको खण्डमा निम्न नम्बरमा सम्पर्क गर्न अनुुरोध गरिन्छ । जितेन्द्रमान शाक्य ९८४६०५०१५०, तीर्थराज अवस्थी, ९८५१२२३९०२, सुन्दर अधिकारी ९८५६०५३१७५, विरेन्द्र पराजुली ९८५६०३५३९५ र सुरज श्रेष्ठ ९८४६७४३०११ । यस संस्थाको उत्तोरत्तर प्रगतिको कामना सधैं ।
ठाेरपाटन अनलाइन बाट साभार गरिएकाे हाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।