धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले शुक्रवार अछामबाट ३५, बझाङबाट २६, कैलालीबाट १० र डोटीबाट तीन जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।



योसंगै प्रदेशमा पाँच एक सय ११ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ४६ जना निको भएर घर फर्किएका छन्।
यस्तै डोटीका आँठ सय ६४, अछामका पनि आँठ सय ४८, कञ्चनपुरका ६ सय ३५ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।
बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८५ जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार एक सय नाघेको छ। संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ।

























