काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सञ्चालन हुने अनलाइन डेलिभरी सेवा सञ्चालनका लागि मापदण्ड बनाउन समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाल अध्यक्षताको बैठकले सोमवारसम्म मापदण्ड बनाउन सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।



मापदण्ड निर्माणका लागि सहायक प्रमुख जिल्ला अधिकारी भट्टको संयोजकत्वमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृतका एकएक जना प्रतिनिधिसहितको समिति बनाएको हो । समितिमा स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीप्रसाद खड्का, वाणिज्य विभागका निर्देशक सागर मिश्र र सशस्त्र प्रहरी बलका सहायक प्रहरी उपरीक्षक दीपेन्द्र शाह रहेका छन् ।
बैठकले होम डेलिभरी सेवा दिँदा अपनाउनुपर्ने मापदण्ड तयार गर्ने र होम डेलिभरीका लागि अत्यावश्यक वस्तु छनोट गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
गत बिहीवार काठमाडौंका विभिन्न स्थानमा खटिएको प्रहरीले निषेधाज्ञामा अनलाइन डेलिभरी बन्देज गरिएको बताउँदै ६५ जना अनलाइन चालकलाई नियन्त्रणमा लिएको थियो । साथै, विभिन्न इ–कमर्श कम्पनीका सञ्चालकलाई कार्यालयमै बोलाएर सेवा बन्द गर्न चेतावनी दिएर छाडिएको थियो ।
प्रहरीको हस्तक्षेप पछि व्यवसाय पुनः सुचारु गर्न ई–कमर्श तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले काठमाडौंका सीडीओ दाहाललाई शुक्रवार ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रपछि सीडीओ दाहालले आइतवार नै स्वास्थ्य कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र अनलाइन डेलिभरी सञ्चालक सहभागी बैठक सम्पन्न गरेका थिए । ‘विनासावधानी अनलाइन डेलिभरी गर्न दिए कोरोना संक्रमणको जोखिम घरघरसम्म पुग्न सक्ने जोखिम भएकाले मापदण्ड बनाएर मात्र सेवा सञ्चालन गर्न दिने निर्णय गरिएको हो,’ उनले भने ।
अनलाइन डेलिभरी तथा ई–कमर्शका सञ्चालकले अत्यावश्यक सेवा सञ्चालन गरिरहेकामा प्रहरीले पक्राउ गरेपछि चौतर्फी विरोध भएको थियो । प्रहरीले फुडमान्डु, फुडमारियो, भोजडिल, सोचेको, युजी केक, पठाओलगायत विभिन्न कम्पनीका सञ्चालकलाई कार्यालयमै बोलाएर सेवा सञ्चालन नगर्न चेतावनी दिएको थियो । उक्त धरकपडपछि सेवा सञ्चालन गरिरहेका कम्पनीले प्रहरीले अवरोध गर्नु उपत्यकाका तीन जिल्ला अधिकारीले जारी गरेको आदेशको बुँदा नम्बर २, ३ र ६ विरुद्ध भएकाले तत्कालै सेवा पुनः सञ्चालनका लागि दबाब दिएका थिए ।
‘हामीलाई सोमवारसम्म मापदण्ड बनाएर पुनः सञ्चालन गर्न दिने आश्वासन आएको छ,’ अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमका संयोजक एवम् किनाराका सञ्चालक सागर भट्टले भने ।
काठमाडौं उपत्यकामा १ सयभन्दा बढी अनलाइन कम्पनीले डेलिभरी सेवा दिइरहेका थिए । फोरमका अनुसार निषेधाज्ञामा काठमाडौं उपत्यकामा करीब ३५ ओटा अनलाइन डेलिभरी तथा ई–कमर्श कम्पनी सञ्चालनमा छन् । तिनमा करीब ५ हजार चालक रहेका छन् भने दैनिक ५ हजार हाराहारी होम डेलिभरी हुने भट्ट बताउँछन् । ‘निषेधाज्ञामा पसलहरू बन्द भएकाले खानालगायतको अर्डर पनि बढेको छ,’ उनले भने ।

























