रौतहटमा एक महिलाको शव फेला परेको छ । जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ३ मुसरिया गाउँको उखुबारीमा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



स्थानीय सकल बैठाकी श्रीमती मृतक देवी १० बजे घाँस काट्न भनेर घरबाट निस्केको र उनको शव उखु बारीमा घाटीमा आफ्नै सारिले बेरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिनुभयो ।
घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी वरियारपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरीको टोली घट्नास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । घटनाको थप विवरण आउन बाकी रहेको छ ।
रौतहटमा पछिल्लो १५ दिनमा ४ जनाको हत्या भएको छ । साउन ३१ गते गरुडा नगरपालिका ८ जिङ्गडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या भएको थियो । त्यस्तै भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्या भएको थियो ।
जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल निवासी ६५ वर्षिय पुजारी साहलाई अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरेको थियो ।
त्यसैगरी निरन्जन रामको हत्याको आरोपमा पक्राउ १९ वर्षीय युवा विजय महराको प्रहरी हिरासतमा दिइएको चरम यातनाको कारण नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा ज्यान गएको थियो । यी घटना प्रहरीले सुल्झाउन नपाउँदै आज फेरि एक महिलाको शव फेला परेको छ ।

























