धनगढीः भारतबाट फर्किएका नागरिकबाट कोरोना भाइरसको जोखिम बढी भएपनि कैलालीका स्थानीय तह क्वारेन्टिन व्यवस्थापनमा आनाकानी गर्न गरिरहेका छन्। सामुदायिक विद्यालयमा क्वारेन्टिन व्यवस्थापन गरेका स्थानीय तहले अहिले बन्द गरिसकेका छन् भने निषेधाज्ञाको अवधीमा क्वारेन्टिन थप्ने बताएका थिए।



तर कोरोना भाइरसको संक्रमण घटेपछि विद्यालय सञ्चालन गर्नुपर्ने भन्दै क्वारेन्टिन व्यवस्थापन गर्न स्थानीय तहले अटेरी गर्न थालेका हुनु्। अहिले पनि भारतबाट फर्किने क्रम पनि जारी रहेको र जिल्लामा संक्रमण पनि बढ्दै गएको अवस्थामा क्वारेन्टिन व्यवस्थापन नहुँदा समुदाय संक्रमणले भयावह रुप लिनसक्ने आशंका गरिएको छ।
स्थानीय तह भने आफ्नै मातहतमा रहेका विद्यालयमा क्वारेन्टिन सञ्चालन गर्न पनि खुट्टा कमाईरहेका छन्। भारतमा अहिले दैनिक ५० देखि ६० हजार कोरोना संक्रमित बढिरहेका छन्। सबैभन्दा बढी संक्रमण फैलिएको क्षेत्रबाट पनि त्रिनगर नाका हुँदै कैलाली भित्रिने क्रम जारी छ। तर उनीहरुलाई अहिले पनि सिधै घर पठाउँन थालिएको छ।

























