डडेल्धुराः नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराउँदै आएको छ । जसका लागि सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको स्वास्थ्य अवस्थामा सुधार ल्याउने लक्ष्यका साथ सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ जारी गरेको छ ।



उक्त कार्यविधि अनुसार महिनवारी हुने सम्पूर्ण किशोरीहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन सरकारले पालिकालाई अनुदान रकम दिने गरेको छ । तर, सामुदायिक विद्यालयमा निःशुल्क पाउने सेनिटरी प्याड वितरणलाई प्रविधिमैत्री बनाउने नाममा डडेल्धुराको भागेश्वर गाउँपालिकाले आफूखुसी खरिद गरी जडान गरेका भेन्डिङ मेसिन प्रयोग बिहिन पाइएका छन् ।
सरकारले सामुदायिक विद्यालयका छात्राहरू महिनावारीको समयमा विद्यालय छाड्ने दर बढ्दै जान थालेपछि यसलाई रोक्ने लक्ष्यसहित ल्याएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधिहरूले आफुखुसी खरिद गरेका भेन्टिङ मेसिन सञ्चालनमा नआई थन्किएका छन् । पालिकाले खरीद गरेर जडान गरेका कुनै पनि भेन्डिङ मेसिन अहिले प्रयोगमा छैनन् । पालिकाले आफूखुसी खरिद गरेर विद्यालय, विद्यालयमा थमाएका मेसिनहरू प्रयोगमा आउन नसकेको विद्यालयहरूले जनाएका छन् ।

मेसिन खरिद मै जोडबलः निरन्तरतामा छैन चासो
सरकारले निःशुल्क उपलब्ध गराएको सेनिटरी प्याड सहज रूपमा नपाएको अवस्थामा स्थानीय तहले भने स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट ‘सेनिटरी प्याड’ निकाल्ने मेसिन खरिदमा जोडबल गर्दै विद्यालयहरुमा जडान समेत गरिसकेको देखिन्छ । अझ भनौँ महिनावारी सम्बन्धीको गलत बुझाइले कतिपय किशोरीहरूले यसको प्रयोग समेत गर्न हिचकिचाउछन् ।
स्थानीय तहमा सेनिटरी वितरण गर्ने भेन्डिङ मेसिन छात्राहरूको लागि उपयोगी भए वा नभएको तथा यसको प्रभावकारीता र सञ्चालन तथा व्यवस्थापन लगायतका विषयमा ख्याल नगरी जडान गरिएका कारण मेसिन सञ्चालनमा आउन नसकेको एक विद्यालयका प्रध्यानाध्यापक बताउछन् ।
‘विद्यालयमा छात्राहरूले प्रयोग गर्छन् कि गर्दैनन्, प्रविधिका हिसाबले सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार छन् कि छैनन् भन्ने विषयमा हेक्का नराखी खरिद गरिएकाले यी मेसिन सञ्चालनमा भने आउन सकेनन्,’ उनले भने, ‘स्थानीय तहहरूले आवश्यकता भन्दा बढी महत्त्वाकांक्षा राखेर खरिद गरिएकाले प्रयोगमा नआई थन्किन पुगे ।’
जनप्रतिनिधिको उक्त कदमप्रति सस्तो लोकप्रियता छर्न खोजेको भन्दै चर्को आलोचनासमेत भइरहेको छ । ‘
भेन्टिङ मेसिन कसरि काम बिहिन भए त ?
पालिकाले जडान गरेका भेन्टिङ मेसिनहरु काम बिहिन भएका छन् । यस बिषयमा हामीले भागेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश बहादुर पौडेल लाई बुझ्दा पालिकाले खरिद गरेका भेन्टिङ मेसिनहरु विद्यालयहरुमा जडान गरीसके पछि हामीले त्यस मेसिनमा लाग्ने साईजको प्याड खरिद गर्न सकेका छैनु तर सामान्य प्याडहरु भने खरिद गरेर विद्यालयलाई दिदै आएका छौ । कार्यबिधि अनुरुप हामीले कोटसन वा टेन्डर गरेर प्याड खरिद गछौ कार्यविधि अनुरुप प्याड खरिद गर्दा भेन्टिङ मेसिनमा लाग्ने साईजको प्याड नआउने भएकाले यी मेसिनहरु काम बिहिन भएका हुन् ।
सरकारले सामुदायिक विद्यालयमा र्नस कार्यक्रम अनिवार्य लागू गरेकोछ ।

























