डडेल्धुराः आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएको छ । कार्यालयमा चार महिना देखि कार्यालय प्रमुख नभएको र दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।कर अधिकृत र नायब सुब्बाको अभावमा सेवा प्रवाहमा समस्या देखिएको कार्यालयले जनाएको छ । कार्यालयमा हाल १० जना कर्मचारीको दरबन्दी रिक्त रहेको छ । एक उप–सचिव, तिन कर अधिकृत, पाँच सुब्बा र कम्प्युटर अधिकृत लगाएत कर्मचारीको पद रिक्त रहेको छ ।



कर्मचारी अभाव हुँदा कार्यालयबाट प्रवाह हुँदै आएको सेवा प्राप्त गर्न समस्या भएको बैतडीका सेवाग्राही हेमराज भट्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘हामी जस्तो टाढाबाट आउनेहरुका लागि त समयमा काम नहुँदा धेरै समस्या भयो, समयमा काम हुदैन । आउँ÷जाउँ मै गाडी भाडा लगायत अन्य काम पनि प्रभावित हुन्छ ।’ कार्यालय अहिले निमित्त कार्यालय प्रमुखको भरमा चलिरहेको छ । कार्यालय प्रमुखको चार महिनाअघि सरुवा भएपछी कार्यालय निमित्तकै भरमा चलिरहेको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत थानेश्वर अवस्थीले बताउनु भयो । ‘कर्मचारी नहुँदा नागरिकको काममा समस्या भएपछि एउटा फाँटको कर्मचारीलाई उक्त फाँटको काम सकिएपछि पुनः अर्को फाँटमा खटाएर कामकाज चलाउँदै आएका छौँ,’ उहाँले भन्नु भयो ।
गत असोजमा एक जना सुब्बाको दरबन्दी सरुवा भई आएको भएपनी कार्यालयको सम्पर्कमा नआउदै काठमाँडौ सरुवा भएर गएको कर अधिकृत अवस्थीले बताउनु भयो । डडेल्धुरा जिल्लामा दुर्गम भनेर आउनै नमान्ने, आएपनि एक बर्ष भित्रै सरुवा भएर जाने परीपाटिले पनि समस्या हुँदै आएको कर अधिकृत अवस्थीले बताउनु भयो । कतिपय त अन्यन्त्रबाट सरुवा भई आएपनि कार्यालयमा हाजिर नहुदै पहुचको भरमा बाटोबाटै अन्यन्त्र सरुवा हुने गरेको उहाँको भनाई छ । कार्यालयको हालको कार्यक्षेत्र डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुरा गरी ७ जिल्ला रहेको छ ।

























