महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ६ कसरौलमा ११ करोडको लागतमा निर्माणाधिन बैजनाथ खानेपानी आयोजना निर्माण कार्य पूरा सुस्त भएको छ ।



खानेपानी आयोजना निर्माणका लागि प्रयाप्त बजेट विनियोजन नहँुदा खानेपानी आयोजनाले गति लिन नसकेको हो ।
खानेपानी आयोजना निर्माण शुरु भएको तीन बर्ष भएपनि आयोजना निर्माणको कार्य पुरा हुन नसकेको आयोजना निर्माण समितिका अध्यक्ष दान सिंह ऐरले बताए ।
‘आयोजना निर्माणका लागि आवश्यक पर्ने बजेट विनियोजन नहुदा निर्माण कार्यले गति लिन सकेको छैन’ उनले भने, ‘बन्दाबन्दीका कारण समेत निर्माण कार्य प्रभावित भएको छ ।’
उनका अनुसार हालसम्म खानेपानी आयोजनाको रु ४६ लाखमा पहिलो बर्ष दुई वटा बोरिङ गाडने कार्य पूरा भएको छ ।
दोस्रो वर्ष २३ लाखको लागतमा पर्खाल निर्माणको कार्य गरिएको छ । तेस्रो वर्ष ४७ लाखको लागतमा चौकिदार घर, इन्टेक, अफिस र शौचालय निर्माण गरिएका छन । आयोजना निर्माण २०७५ सालदेखि शुरु गरिएको हो ।
एक हजार दुई सय २६ घरधुरीमा खानेपानी पु¥याउने लक्ष्य सहित निर्माण कार्य अघि बढाईएको खानेपानी आयोजनाका लागि १० लाख लिटरको ओभरहेड टयाङ्की निर्माण हुने छ । खानेपानी आयोजनाको कुल लागतको १ प्रतिशत रकम धरौटीका रुपमा जम्मा गरिएको छ ।
उपभोक्ताले ११ लाख ७२ हजारको खानेपानी आयोजनाकै लागि अक्षय कोष समेत स्थापना गरेको अध्यक्ष ऐरले बताए । बजेट अभाव नभए खानेपानी आयोजना निर्माणको कार्य समयमै पुरा हुन्छ अध्यक्ष ऐरले भने, ‘बजेट अभाव भए निर्माण कार्य निर्धारित समयमै पूरा गर्न कठिन छ ।”
निर्माण कार्य शुरु भएको पाँच वर्षभित्र आयोजना निर्माणको कार्य पूरा गरी उपभोक्ताको घरसम्म पानी पु¥याउने लक्ष्य राखिएको छ ।

























