काठमान्डौ –प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी विस्तार गरेका छन् । पार्टीमा आफ्नो बहुमत देखाउन उनले केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ नियुक्त गरेर केन्द्रीय कमिटीको संख्या ११ सय ९९ पुर्याएका छन् ।



यस्तै ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् । बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।
यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो । बैठकले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ । त्यस्तै कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेता खटिएका छन् भने लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ ।
गण्डकीमा वक्ताका रुपमा टोपवहादुर रायमाझी तोकिएका छन् भने बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने केन्द्रीय कमिटीमा प्रस्ताव पारित भएको छ ।बैठकले अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने पनि निर्णय गरेको छ ।


















