काठमाडौं । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । ९५ वर्षीय स्वाँरको बिहीबार बिहान निधन भएको हो । पारिवारिक स्रोतका अनुसार काठमाडौंको बानेश्वरस्थित घरमै उहाँको निधन भएको हो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ ।



राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहनु भएका स्वाँर केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त हुनुभएको थियो । थापथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका स्वाँर कोरोना संक्रमणमुक्त भएपछि हिजो (बुधबार) मात्रै डिस्चार्ज हुनुभएको थियो ।
उहाँको कात्तिक १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । उहाँले कात्तिक १३ गते मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा पिसिआर परीक्षणका लागि स्वाब दिनुभएकाे थियाे । स्वाँर २०३८ सालमा सूर्यबहादुर थापाको नेतृत्वको सरकार र २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकार हुँदा गृहमन्त्री हुनुभएकाे थियाे । उहाँका दुई छोरा र चारजना छोरी छन् ।

























