२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

टिंकर सडक निर्माणमा व्यास गाउँपालिकाले थाल्यो महाअभियान, देशभरका स्थानीय सरकारसंग आर्थिक योगदान गर्न आव्हान

र्दाचुलाः नेपाल सरकारले दार्चुला–टिंकर सडकमा पर्याप्त बजेट विनियोजन नगरेपछि देशभरका स्थानीय सरकारबाट आर्थिक योगदान जुटाउने महाअभियान थालिएको छ । टिंकर सडक निर्माण भइरहेको क्षेत्रको स्थानीय सरकार व्यास गाउँपालिकाले दार्चुला–टिंकर सडक निर्माणमा सक्दो आर्थिक योगदान गर्न देशभरका स्थानीय सरकारहरुसंग अपिल गरेको छ ।

गाउँपालिकाले टिंकर सडक निर्माणलाई गति दिन देशभरीका स्थानीय तहसंग आर्थिक सहयोग मागेको हो । जेठ १५ गते संघीय सरकारले ल्याइएको नयाँ बजेटमा महाकाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला–टिंकर सडक खण्डमा ९ करोड रुपैयाँ मात्र बजेट छुट्याइएको छ ।
कुल ७९ किलोमिटर लामो सडकमध्ये हालसम्म १३ किलोमिटर मात्रै सडक निर्माण गरिएको छ । बाँकी ६६ किलोमिटर सडक निर्माणका लागि प्राथमिकतासहित पर्याप्त बजेट विनियोजनको माग गरिदैआएको छ ।
पर्याप्त बजेट विनियोजनको माग पटक–पटक गरिए पनि सरकारले सम्बोधन नगरेको व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । ‘धेरैपटक मौखिक र लिखित रुपमा टिंकर सडकमा बजेट बढाउन माग गर्यौं तर सम्बोधन भएन, यसपटकको नयाँ बजेटले त झनै निराश बनायो’ गाउँपालिका अध्यक्ष धामीको भनाई छ ।
असार ८ गते सम्पन्न व्यास गाउँपालिकाको १६औं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा टिंकर सडक निर्माणका लागि देशभरीका स्थानीय सरकारसंग आर्थिक सहयोगको अपिल गर्ने निर्णय गरिएको छ । ‘संघीय सरकारले पर्याप्त बजेट नछुट्याएको अवस्थामा यसको महत्व र आवश्यकता उजागर गर्न स्थानीय सरकार अग्रसर भएको हो’ गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले भन्नुभयो ।
गाउँसभाबाट सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित भएपछि देशभरका सबै स्थानीय तहलाई टिंकर सडकमा आर्थिक योगदान गर्न पत्राचार गर्ने तयारी भइरहेको उपाध्यक्ष कुवरको भनाई छ । ‘टिंकर सडक निर्माणको अवस्था र बजेट विनियोजनको आवश्यकताबारे देशभर सन्देश दिन खोजिरहेका छौं’ उहाँले भन्नुभयो– ‘हरेक स्थानीय सरकारले कम्तिमा १ लाख रुपैयाँ आर्थिक योगदान गर्दा पनि साढे ७ करोड रुपैयाँ संकलन हुने अवस्था छ ।’
व्यास गाउँपालिकाको १६औं गाउँसभाले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमसंगै नयाँ बजेट पनि सर्वसम्मत रुपमा पारित गरेको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्षमा टिंकर सडक निर्माणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो ।
गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैयाँ देशभरका स्थानीय सरकारबाट प्राप्त हुने रकमसंगै खर्च गरिने गाउँपालिकाको तयारी छ । ‘टिंकर सडक निर्माणका लागि संकलन हुने रकम कसरी खर्च गर्ने भन्ने टुंगो गाउँ कार्यपालिका बैठकबाट गरिनेछ, सडक निर्माणलाई गति दिनेगरी हाम्रो क्रियासिलता हुनेछ’ गाउँपालिका प्रवक्ता धामीले भन्नुभयो ।
सेनामार्फत निर्माण भइरहेको टिंकर सडकमा चालू आर्थिक वर्ष २०८०÷८१ मा १४ करोड १९ लाख रुपैयाँ बजेट दिइएको छ । यो बजेटबाट ३ किलोमिटर नयाँ ट्रयाक निर्माण र २ किलोमिटर सडकको स्तरोन्नती गर्ने काम भइरहेको छ । यो वर्षसम्म १३ किलोमिटर सडक निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ ।
सडक निर्माणका लागि पर्याप्ट बजेट उपलब्ध नहुँदा १० वर्षभित्र निर्माण गर्ने लक्ष्य लम्बिएर दोब्बर समय लाग्ने अवस्था छ । दुई वर्षदेखि बजेट थपेर दु्रतगतिमा टिंकर सडक निर्माण गर्न माग गर्दैआए पनि संघीय सरकारले यो मागलाई प्राथमिकता नदिएको गुनासो छ । ‘प्रधानमन्त्री, विभागिय मन्त्रीहरु, दलका शीर्ष नेताहरु सबैलाई भेटेर पनि माग राख्यौं, लिखित अनुरोध पनि गर्यौं तर बजेटमा न्याय पाइएन’ व्यास गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरको भनाई छ ।
स्थानीय सरकारसंगै देशभरका सातवटै प्रदेश सरकारसंग पनि टिंकर सडक निर्माणमा बजेट मागिने गाउँपालिकाको तयारी छ । ‘संघीय सरकारले आवश्यक बजेट विनियोजन नगरेपछि देशभरका स्थानीय र प्रदेश सरकारहरुको समेत साझेदारी र योगदानमा सडक निर्माण होस् भन्ने हाम्रो प्रयास हो’ व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो, देशभरीका ७ सय ६१ वटै सरकारको सहकार्य र सामूहिक योगदानमा अहिलेसम्म कुनै पनि विकास निर्माण कार्य थालिएको छैन, टिंकर सडक निर्माणमा यस्तो नमुना र उदाहरणीय अभ्यास गर्ने हाम्रो प्रस्ताव हो ।’
व्यास गाउँपालिकाका छ वटै वडाका अधिकांश वस्तीहरु जोडेर टिंकर सडक निर्माण हुँदैछ । हालसम्म वडा नम्बर ३, ४, ५ र ६ को भूगोलमा सडक निर्माणको ट्रयाक निर्माण खोलिएको छ । वडा नम्बर १ र २ को क्षेत्रमा सडक निर्माण गर्न बाँकी छ । महाकाली नदीको किनारैकिनार निर्माण हुने सडक निर्माण कठिन भूगोल, कडा चट्टान र अन्तर्राष्ट्रिय सिमाक्षेत्रका कारण चुनौतीपूर्ण छ ।


गाउँपालिकाको सबै भूगोल र अधिकांश जनसंख्या टिंकर सडक निर्माणबाट लाभान्वित हुने गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवर बताउनुहुन्छ । ‘राष्ट्रिय स्वाभिमान र रणनीतिक महत्वका कारण टिंकर सडक निर्माण हुनु आवश्यक छ, यसका साथै व्यास गाउँपालिकाको समग्र भूगोल र जनसंख्या लाभान्वित हुने भएकाले हामीले यसैलाई मुख्य विकासको आधार मानेका छौं’ उपाध्यक्ष कुवरले भन्नुभयो । ‘व्यास विकासको पूर्वाधार, टिंकर सडक मुख्य आधार’ भन्ने प्रमुख नारा र एजेण्डा १५औं गाँउसभाबाटै निर्धारण गरी गाउँपालिकाले महत्व दिएको उहाँले बताउनुभयो ।
नेपालतर्फ व्यासक्षेत्र जोड्ने पैदलबाटो समेत नभएको अवस्थामा नेपाल सरकारले उच्च प्राथमिकता दिएर टिंकर सडकमा पर्याप्त बजेट दिनुपर्ने सिमाक्षेत्रको माग छ । नेपालतर्फ बाटो नहुँदा सर्वसाधारणदेखि सरकारी अधिकारी र सुरक्षाकर्मीहरुले समेत भारतीय भूमि भएर व्यासक्षेत्रमा पुग्नुपर्ने बाध्यता छ ।
अतिक्रमित नेपाली भूमि नजिकका अन्तिम वस्तीहरु छाङरु र तिंकर गाँउ जोड्ने गरी टिंकर सडक निर्माण हुनेछ । त्रिदेशीय सिमाक्षेत्रमा निर्माण हुने र पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालनको ढोका खोल्ने भएकाले पनि टिंकर सडक निर्माणलाई व्यास गाउँपालिकाले उच्च महत्व दिएको अध्यक्ष मंगल सिंह धामीको भनाई छ । निर्माण हुन बाँकी ६६ किलोमिटर सडकमा लागि पर्याप्त बजेट विनियोजन गराउन र दु्रतगतिमा सडक निर्माण गर्न संघीय सरकारलाई नैतिक दबाव दिन पनि स्थानीय सरकारको बजेट संकलन गर्नुपरेको उहाँले बताउनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।