महेन्द्रनगर । बेदकोटमा नगरपालिकाको लालपुरमा मरेको छाडा चौपाया दुई दिनसम्म व्यवस्थापन हुन नसकेपछि स्थानीयको आक्रोश बढेको छ ।



स्थानीयले मरेको चौपायाको तस्बिर सामाजिक सञ्जालमा राखेर नगरपालिकाप्रति आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा बेदकोट नगरपालिकालाई गाईमारा बेदकोट सरकार मुर्दावाद भन्दै आक्रोश पोखिएको छ ।
नगरपालिकाले दुई दिन अघि मरेको चौपायाको व्यवस्थापन गर्न नसकेपछि कुकुरले खाएको विभत्स दृष्य फेसबुकमा भाइरल भएको छ ।
फेसबुकमा यस्तो लेखिएको छ, ‘बेदकोट नगरको छडा चौपाया व्यवस्थापनमा चरम लापरबाहीका कारण तड्पि तड्पिएर लालपुर चोक नजिक मारेको छाडा चौपाया । मरेको २ दिन हुँदा पनि बेदकोट नगरले व्यवस्थापन नगर्दा कुकुरले लुछेर यस्तो अवस्था पारेको छ । गाईमारा बेदकोट नगर स्थानीय सरकार मुर्दावाद !’
बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनमा ६० लाख खर्च भएको छ । नगरपालिकाले हात्तीथला र चुनेपानीमा छाडा पशु चौपाया व्यवस्थापन गरेको छ ।
बेदकोट नगरपालिकाका वासिन्दा पारस जोशीले स्थानीय सरकारले छाडा पशु चौपाया व्यवस्थापनमा ध्यान नदिँदा समस्या बल्झिएको बताए ।
‘छाडा चौपायाको व्यवस्थापनमा पनि ध्यान गएको छैन, मरेपछि पनि ध्यान गएको छैन’ जोशीले भने । बेदकोट नगरपालिका ७ का अध्यक्ष बीर बहादुर डगौराले सडकमा मरेको गाईको छिटो व्यवस्थापन गरिने बताए ।

























