डडेल्धुराः सरकारले माघ ११ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । यसैगरी पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । सोही निर्वाचनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले ८२ जनाको नामावली सिफारिस गरी पठाएको छ ।
जिल्ला तहबाट सिफारिस भई आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको हो । यस्तै डडेल्धुराबाट भने ५ जनाको नाम प्रदेशलाई सिफारिस भएकोमा प्रदेशले पाँचै जनाको नाम केन्द्र पठाएको छ । नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद, केन्द्रीय सदस्य नैनसिंह महर, पूर्व प्रदेशमन्त्री गोविन्दराज बोहरा कांग्रेस नेता रघुवर भट्ट र तारक बुढाऐरको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरिएको हो ।



सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली)महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो ।
उनीहरुको रिक्त हुने स्थानमा पदपूर्तिको लागि नेपाली कांग्रेसले सुदूरपश्चिमबाट ८२ जनाको नाम सिफारिस गरेको हो । सिफासिस भएको नामावली अनुसार सबैभन्दा बढी कैलाली जिल्लाबाट १६ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश समितिले जिल्ला तहले पठाएको सिफारिसमा कुनै हेरफेर नगरेर केन्द्रमा पठाएपछि आकांक्षीहरुको दौडधुप बढेको छ । उनीहरु शिर्ष नेताहरुसँग लविंग बढाएका हुन् ।


















