काठमाडौं, १८ असार । नेपाल एसीसी अण्डर–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार सिंगापुरलाई ९७ रनले पराजित गरेपछि फाइनलमा स्थान सुरक्षित गरेको हो ।मलेसियामा आयोजना भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । जवाफमा आएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।



नेपालले मंगलबार हुने फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । सोमबार भएको अर्को सेमिफाइनलमा घरेलु टोली मलेसियाले हङकङलाई ७८ रनले पराजित गर्यो । सिंगापुरले आक्रामक सुरुआत गरे पनि नेपाली स्पिनरले उनीहरुलाई अंकुश लगाएका थिए । ओपनर रोशन रविचन्द्रनले सर्वाीधक २४ रन बनाए । उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कविर बेरिलाले ११ रन बनाए । प्रणव धानुका १४ रनमा अविजित रहे । उनले दुई चौका प्रहार गरेका थिए ।
नेपालबाट कृतिक कामतले तीन विकेट लिए । उनले २.३ ओभरमा ९ रन खर्चिए । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेन भट्टले समान एक विकेट लिए ।
यसअघि सूर्यांशु कोइराला र निरज यादवले १२ ओभरभित्र ६३ रन जोडेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सूर्यांशुले ४९ बलमा ६ चौकासहित ४३ रनको योगदान दिए भने निरजले ४२ रन बनाए । निरजले ४९ बल तीन चौका तथा एक छक्का प्रहार गरे ।
आशिष लुहार ६, नरेन ३, प्रतिक १२ रनमा आउट भएपछि नेपाल दवावमा परेको थियो । सन्तोष यादवले २४ बलमा १८ रन बनाए । अशोक धामी शून्यमै आउट भएपछि कप्तान अभिषेक तिवारी र दीप भुजेलले आठौं विकेटमा ३९ रनको महत्त्वपूर्ण साझेदारी गरे । अभिषेकले २१ बलमा २५ रन बनाए । दीप १५ बलमा १२ रन बनाई अविजित रहे । कृतिक कामत अन्तिम ओभरमा १० रन बनाउँदै अविजित रहे । उनले ५ बलमा एक चौका प्रहार गरे । प्रतीक पोखरेल पनि २ बलमा तीन रन बनाएर अविजित रहे ।
सिंगापुरका हरिहरनले ३ विकेट लिए । उनले ७ ओभरमा ३१ रन खर्चे । हर्ष वेंकटर्म र कविर बेरिलाले समान दुई विकेट लिए । नेपाल थाइल्यान्ड र मलेसियालाई पराजित गरि समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । माल्दिभ्स र इन्डोनेसियामाथि विजय हात पारेको सिंगापुर अन्तिम खेलमा हङकङसँग पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको थियो ।

























