२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

महाकालीमा झोलुङ्गे पुलको उद्घाटन

दार्चुला – नेपाल र भारत सीमा नदी महाकालीमा निर्माण भएका दुई वटा झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिका वडा नम्बर २ मालगाउँ र वडा नम्बर ४ मलघट्टेमा बनेका पुलको बिहीवार नेपाल र भारतका अधिकारीहरूले रिबन काट्दै उद्घाटन गरेका हुन् ।

पुल उद्घाटन कार्यक्रममा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, दार्चुलामा रहेको सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति प्रहरी उपरीक्षक (एसपी) डम्बरबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलालका प्रहरी प्रमुख, व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामी, गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवर लगायतको सहभागिता रहेको थियो । त्यस्तै भारतको तर्फबाट पिथौरागढका डीएम रिना जोशी लगायतको सहभागिता रहेको गाउँपालिका उपाध्यक्ष कुँवरले जानकारी दिए ।

मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने छ । पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्नेछ । भारततर्फको पुलको सुरक्षाका लागि भारतीय प्रशासनलाई पत्राचार गरिएको प्रजिअ उपाध्यायले बताए । मालघाट गस्कुको झोलुङ्गे पुलको सुरक्षा दुम्लिङमा रहेको सशस्त्र प्रहरी र मालघट्टेको पुलको सुरक्षा सुन्सेराको जनपद प्रहरीले गर्ने प्रशासनले जनाएको छ ।

महाकाली किनारका दार्चुलावासी किनमेल तथा मेलापातका लागि पारि भारततर्फ जाने गर्दछन् । पुल नहुँदा ट्युब र तुइनको सहायताले पारि जानुपर्ने बाध्यता थियो । ‘महाकालीमा पुल बनेपछि तुइन र ट्युबबाट वारिपारि गर्नुपर्ने बाध्यता हटेको छ’, व्याँस गाउँपालिका अध्यक्ष धामीले भने, ‘अब वैधानिकरूपमा पुलबाट यहाँका मानिस नेपाल–भारत ओहोरदोहोर गर्न सक्छन् ।’ महाकालीमा झोलुङ्गे पुल सञ्चालनमा आएसँगै तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्न १० वटा झोलुङ्गे पुल छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापन अभियानअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा ४ वटा पुल निर्माण भएर सञ्चालनमा आएका छन् ।

मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्यास गाउँपालिका–६ वडूगाउँमा गएको वर्ष पुल सञ्चालनमा आएको थियो। व्यास गाउँपालिका–२ मालघाट गस्कु र वडा नम्बर ४ वर्तीघाट मालघट्टेमा पुल निर्माण सम्पन्न भइसकेको छ । यस्तै दार्चुलाको खलङ्गामा रहेको पुलघाट, व्यासको सीतापुल, तिग्रम, महाकालीको दत्तु र लेकमको लालीमा झोलुङ्गे पुल सञ्चालनमा रहेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाललाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल पनि बन्दैछ । व्यास गाउँपालिकाको तावाघाट, दुम्लिङ र बुदी क्षेत्रमा पनि झोलुङ्गे पुलको आवश्यकता रहेको गाउँपालिका अध्यक्ष धामीले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।