डडेल्धुरा (जनक महरा) ः डडेल्धुराको नवदुर्गामा २२ गते मष्टा भगवती जाँत लाग्ने भएको छ । नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा २१ गते रतेडी र २२ गते दिउसेडी मेला लाग्ने भएको हो ।



प्रत्येक वर्ष पूर्णिमा अर्थात् उग्रतारा भगतवती मेला देहिजाँतको ठीक एक महिनापछि हुने मष्ठा भगवती जाँत विधिवत रूपमा पूजापाठसँगै लाग्ने गरेको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष केशवराज रोस्याराका अनुसार न्वाघर, सेटीगाउँ र बजाडीबाट देउरो आएर पूजा गरिने र २२ गते विभिन्न गाउँबाट मष्टा भगवती मन्दिरमा चलो आउने गरेको छ ।
असिना पानीले स्थानीयले लगाएको अन्नबालीसँगै फलफूल नष्ट पारेपछि गाउँ–गाउँमा अनिकाल निम्तिएकाले त्यसको रोकथामका लागि मष्टा भगवतीमा पूजापाठ गरिएसँगै मष्टा भगवतीमा जाँत गर्ने परम्परा सुरु भएको बताइन्छ ।
मष्टा भगवतीमा नयाँ वर्ष (विशु पर्व) र दशैंमा बोका र राँगाको बलीसमेत दिइन्छ । मष्टा भगवतीमा अहिले माता भगवतीको मूर्ति पनि निर्माण गरिएको छ । डडेल्धुरामा वर्षको अन्तिम जाँत भएकाले पनि मष्ठा भगवती मन्दिरको जाँतमा डडेल्धुराका अधिकांस स्थानबाट स्थानीय पुग्ने गरेको छन् ।

























