डडेल्धुराः डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्। एमालेका पठानसिंह बोहरालाई २ हजार ९ सय १७ मतले पराजित गरे। उनका निकटतम् प्रतिद्वन्दी बोहराले ९ हजार १९५ मत पाए भने स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७६२ र धनबहादुर बोहराले २०२ मत पाएका छन्। २५ हजार ३६१ मत खसेकोमा १ हजार ३३६ मत बदर भयो।



एमालेका बोहरा भने ०७४ सालको निर्वाचनमा यहाँ निर्वाचित भएका थिए। वाम गठबन्धनका तत्कालीन उम्मेदवार बोहराले नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टलाई २ हजार १६९ मतले पछि पार्दै विजयी भएका थिए। बोहराले १३ हजार ५६३ मत ल्याउँदा भट्टले ११ हजार ३९४ मत पाएका थिए।
कात्र्तिक २० गते डडेल्धुराको परशुराममा आयोजित चुनावीसभामा देउवाले जिताएर पठाए भट्ट नै मुख्यमन्त्री बन्ने दाबी शेर बहादुर देउवाले गरेका थिए। सम्बोधनका क्रममा देउवाले भनेका थिए, ‘अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो। मेरो पार्टीले भनिहाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्‚ तपाईंहरू जिताएर पठाउनुस्।’

























