भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी(२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्याण्डले बिना कुनै विकेट क्षति १६ ओभरमा पुरा गर्यो। इङ्ल्याण्डको सहज जितमा ओपनर एलेक्स हेल्ले र जस बटलरले बिस्फोटक ब्याटिङ गरे। एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकासहित ८६ रन बनाउँदा बटलरले ४९ बलमा ३ छक्का र ९ चौकासहित ८० रन बनाए।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन बनाए। उनले ३३ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।
यस्तै विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टी(२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन्। कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् । लोकेश राहुल ५ रनमा क्याच आउट भए ।
रोहित शर्माले २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए। विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा आउट भए। ऋषभ पन्तले ६ रन जोडे। इंग्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए। आदिल राशिद र क्रिस वोक्सले एक(एक विकेट हात पारे।
अब इङ्ल्याण्डले उपाधिका लागि पाकिस्तानसँग आइतबार प्रतिस्धर्पा गर्नेछ। पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।




























