डडेल्धुरा ः शनिवार जिल्ला सदरमुकामा डडेल्धुरा उद्योग वाणिज्य संघको नयाँ कार्यकारणी समिति चयन गर्नका लागि मतदान भएको थियो । मत गणनाको काम राति आठ बजे बाट सुरु भएको थियो । मतगणना जारी छ। पदाधिकारीतर्फ ९ सय मतगणना भएको छ भने सदस्यतर्फ भने मतगणना सकिएको छ।



निर्वाचन समितिका अनुसार सदस्यमा ७०३ मत ल्याउदै हरिप्रसाद उप्रेती, ६९६ मत ल्याएका सीताराम पाण्डेय र ६७६ मत ल्याएर धर्मदेव पाण्डेय विजयी भएका छन्। यस्तै मोहनबहादुर देउवा ६७२, धनबहादुर ठकुराठी ६५१, लोकराज पाण्डेय ६३५ र टेकराज ओझा(भुवन) ६१७ मत ल्याएर सदस्यमा विजयी भएका छन्।
सात जना सदस्यका लागि नौं जना चुनावी मैदानमा उत्रिएका थिए। ५३५ मत ल्याएका गणेश साँकी र ६१३ मत ल्याएका सुनिल घिमिरे भने पराजित भएका छन्। यस्तै अध्यक्षमा भने द्धिजराज भट्टको अग्रता कायमै छ। ९ सय मतगणना हुँदासम्म उनले ४७६ मत पाएका छन् भने अध्यक्षका अर्का उम्मेदवार भोजराज भट्टले ४०१ मत पाएका छन्।
वरिष्ठ उपाध्यक्षमा दिपक महताले ५१० र लालमणी पन्तले ३२९, वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थीले ५०८ र महादेव भट्टले ३०१, महासचिवमा विष्णुराज जोशीले ५४९ र दिनेशप्रसाद पनेरुले २९८ र सचिव महिलामा मिना फुलाराले ५४१ र लक्ष्मी ऐरले २८३ मत पाएका छन्।
एक हजार २९४ सदस्य रहेकोमा एक हजार ८८ मत खसेको थियो। निर्वाचन समिति संयोजक युवराज जोशीका अनुसार उद्योग वाणिज्य संघको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, वाणिज्य सचिव, उद्योग सचिव, सचिव महिला, कोषाध्यक्ष, खुल्ला सदस्य १०, महिला सदस्य दुई र दलित, जनजाती, अपाङ्ग सदस्य दुई र वस्तुगत उपाध्यक्ष गरी २५ जनाको कार्यकारणी समिति हुने प्रावधान छ।

























